राजन कुमार बानिया/पर्सा, ६ साउन |
पर्साको छिपहरमाई गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतको लामो अनुपस्थितिका कारण प्रशासनिक कामकाज ठप्प बनेको छ। आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम तथा गाउँसभा हुन नसक्दा विकास निर्माणका योजना प्रभावित हुनुका साथै बजेटसमेत कटौती हुने जोखिम बढेको जनाइएको छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सञ्जीव साह समयमै कार्यालयमा उपस्थित नभएका कारण गाउँसभा आयोजना हुन नसकेको गाउँपालिकाले जनाएको छ। प्राप्त विवरणअनुसार साह जेठ ७ गते हाजिर भए पनि नियमित रूपमा कार्यालयमा उपस्थित भएनन्। त्यसपछि असार ११ गते कार्यालय पुगेर बैंक खाता सञ्चालनसमेत नगरी हाजिरी पुस्तिकामा असार १५ देखि १९ गतेसम्म घर बिदा उल्लेख गरेका उनी त्यसयता कार्यालयमा अनुपस्थित रहेका छन्।
कानुनी व्यवस्थाअनुसार प्रमुख प्रशासकीय अधिकृतको उपस्थितिबिनै नीति तथा कार्यक्रमसहितको गाउँसभा सञ्चालन गर्न नमिल्ने भएकाले गाउँसभा रोकिएको गाउँपालिकाको भनाइ छ।
गाउँपालिका अध्यक्ष मनोज कुमार गुप्ता ले प्रमुख प्रशासकीय अधिकृतको अनुपस्थितिका कारण गाउँसभा र दैनिक सेवा प्रवाह दुवै प्रभावित भएको बताए। उनका अनुसार प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालयमा उपस्थित गराउन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तथा जिल्ला प्रशासन कार्यालय पर्सामा चार पटक पत्राचार गरिएको छ। फोनमार्फत समेत पटक–पटक सम्पर्क र ताकेता गरिए पनि कुनै सुनुवाइ नभएको अध्यक्ष गुप्ताको दाबी छ।
“गाउँसभा गर्न सबै जनप्रतिनिधि तयार छन्, तर प्रमुख प्रशासकीय अधिकृतको अनुपस्थितिका कारण प्रक्रिया नै अघि बढ्न सकेको छैन,” अध्यक्ष गुप्ताले भने।
यस विषयमा प्रतिक्रिया लिन प्रमुख प्रशासकीय अधिकृत सञ्जीव साहसँग फोन सम्पर्कको प्रयास गरिए पनि उनको मोबाइल फोन बन्द रहेकाले प्रतिक्रिया प्राप्त हुन सकेन।
प्रमुख प्रशासकीय अधिकृतको निरन्तर अनुपस्थितिका कारण गाउँपालिकाको प्रशासनिक सेवा, विकास आयोजना तथा नागरिकलाई दिइने अत्यावश्यक सेवासमेत प्रभावित बनेका छन्। स्थानीयवासीले सम्बन्धित निकायसँग तत्काल हस्तक्षेप गरी समस्या समाधान गर्न माग गरेका छन्।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

