Rashtriya Dainik

आज २५६९ औं बुद्धजयन्ती मनाइँदै

काठमाडौं, २९ बैशाख । शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५६९औं जन्मजयन्ती आज घर, गुम्बा, चैत्य, विहारमा श्रद्धा भक्तिपूर्वक पूजा आराधना, प्रवचन एवम् शान्ति सन्देश फैल्याउने योगदानको स्मरण गरी मनाइँदैछ।

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती पर्व सिद्धार्थ गौतम अर्थात् शाक्यमुनि बुद्धले शान्तिको सन्देश फैल्याउन पुर्‍याएको योगदानको स्मरणमा उनीप्रति आराधना, ध्यान गरी मनाइने गरिन्छ।

भगवान विष्णुको नवौं अवतारका रुपमा कपिलवस्तु राज्यका राजा शुद्धोधन र मायादेवीका सुपुत्रका रुपमा उनले हालको रुपन्देहीको लुम्बिनीमा जन्म लिएका थिए।

राजकुमारका रुपमा प्राप्त हुने सुखसयल छोडी दुःख निवारणको कारण खोज्न २९ वर्षको उमेरमा सिद्धार्थ गौतम तपस्याका लागि निस्किएका थिए। तपस्याबाट प्राप्त बुद्धत्वका माध्यमबाट उनले विश्व शान्ति स्थापनाका लागि सहयोग पुर्‍याए।

बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन्।

उनको जीवनका तीन महत्वपूर्ण घटना वैशाख शुक्ल पूर्णिमाका दिन भएकाले आजको दिनलाई बौद्धमार्गीले त्रिसंयोग दिवसका रुपमा पनि मनाउने गर्छन्।

“अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो”, यस्ता अनेकौं कालजयी सन्देशका वाहकका रुपमा भगवान् गौतम बुद्धको परिचय विश्वव्यापी बनेको छ।

बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायत स्थलमा लामा एवम् बौद्ध धर्मगुरु बसेर परम्परादेखि हुँदै आएको पूजालगायत विधि पूरा गरिन्छ। लुम्बिनी, स्वयम्भू, बौद्धलगायत स्थलमा विविध कार्यक्रम आयोजना गरी बुद्ध जयन्ती मनाउने कार्यक्रम छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित