नवलपरासी ,२८ बैशाख
पश्चिम नवलपरासीको सुनवल नगरपालिकाका नगर प्रमुख विमल अर्यालले पत्रकार तथा पत्रकारिता क्षेत्रलाई लक्षित गर्दै सार्वजनिक रूपमा अभद्र अभिव्यक्ति भन्दै नवलपरासीमा क्रियाशिल पत्रकार सम्बद्ध संघसंस्थाले आपत्ति जनाएका छन् । नेपाल पत्रकार महासंघ, नवलपरासी (ब.सु.प.), प्रेस युनियन र प्रेस सेन्टरले विज्ञप्ति मार्फत नगर प्रमुखको सार्वजनिक टिप्पणीको निन्दा गरेका हुन ।
प्रेस विज्ञप्ति जारी गर्दै महासंघले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रमुख अर्यालले दिएको अभिव्यक्ति पत्रकारिता पेशामाथिको गम्भीर हमला भएको जनाएको छ। विज्ञप्तिमा भनिएको छ, “नगर प्रमुखले सत्य, तथ्य र जनपक्षीय मुद्दा उठाउने पत्रकारमाथि गालीगलौज गर्नु प्रेस स्वतन्त्रताको विरोध हो।”
पत्रकार महासंघले नगरपालिकाको गाडी खरिदको विषय समाचारमा आएपछि जनस्तरबाट आलोचना भएको र त्यही आक्रोशमा नगर प्रमुखले पत्रकारहरूमाथि अमर्यादित भाषा प्रयोग गरेको आरोप लगाएको छ । यस्ता अभिव्यक्तिले प्रेस स्वतन्त्रता र सामाजिक उत्तरदायित्वलाई असर पुर्याउने भन्दै महासंघले प्रमुख अर्याललाई अभिव्यक्ति फिर्ता लिन र पत्रकारसँग माफी माग्न आग्रह गरेको छ।
यसैगरी प्रेस यूनियन र प्रेस सेन्टरले पनि नगर प्रमुखलाई आफ्नो अभिव्यक्ति सच्याउन र प्रेस स्वतन्त्रताको सम्मान गर्न आग्रह गरेका छन ।
केही समय अघि मेयर अर्यालले सामाजिक संजाल फेसबुकमा एउटा स्टाटस लेखिन । बैशाख १८ गते रातको ९:०४ मा पोस्ट्याइएको पोस्टमा अर्यालले उपियाँको खोज अनुसन्धानमा पिएचडि गरेका विद्वानको एउटा कथा उल्लेख गरेकी छन । उनले लेखेकी छन – “उपियाँको खोज अनुसन्धानमा पिएचडि गरेका विद्वानलाई गाईको बारेमा लेख लेख्न दिईएछ । उनले गाईको सबै बयान गरे अन्तिममा गाईको जिउमा रौं हुन्छ र यसमा उपिया भेटिन्छ भनेर लेख टुङ्ग्याएछन । अनि अर्को लेख बिरालो हुँदै कुकुर र अन्य जनावरको बारेमा लेख्ख दिदा उनले अन्तिममा यिनिहरुमा पनि रौं हुन्छ त्यसैले उपियाँ भेटिन्छ भनेर लेख टुङ्ग्याएछन । अत्ति भयो भनेर माछाको बारेमा लेख्न दिईएछ उनले माछाको प्रकारदेखि सबै कुराहरु लेखिसकेर अन्तिममा फेरी जोडेछन । यदि माछा जलचर प्राणी नभएर थलचर हुन्थ्यो भने यसको जिउमा पनि रौं पलाउथ्यो र रौ पलाएपछि उपिया अनिवार्य पर्थ्यो भनेर लेख टुङ्ग्याएछन । अत : अहिले हरेक प्रसङ्गमा केहीले घुमाई फिराई एउटै कुरा जोडेर आफ्नो विशेषता देखाईरहेछन ।”
उनको यो पोस्ट पत्रकार तिरै लक्षित हो भन्ने कुनै प्रमाण देखिदैन । तर एउटा कमेन्टमा भने उनले पत्रकारलाई इंकित गरेर ‘झोले’ भनेपछि पत्रकारहरु आक्रोशित भएका हुन् । उनले एउटा कमेन्टको रिप्लाईमा आफु निकट एक महिला पत्रकारको प्रतिरक्षा गर्दै लेखेकी छन् – “सत्यतथ्य विषय ल्याउने उत्कृष्ट पत्रकारलाई यत्रो आरोप, अरु सत्यतथ्य नबुझी लेख्ने झोलेहरुलाई कुनै प्रश्न छैन किन?”
यसरी उनले पत्रकारप्रति आक्रोश व्यक्त गरेपछि सामाजिक संजालमा बहस सिर्जना भएको छ । यस विषयमा नगर प्रमुख अर्यालको भनाई लिन खोज्दा उनको फोन उठेन ।




राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

