Rashtriya Dainik

धनगढीमाई १३ मा खानेपानीको चरम अभाव, स्थानीय बासिन्दा अत्यन्तै चिन्तित ।

विनोद मण्डल/सिराहा, वैशाख १९ ।

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१३ का विभिन्न टोल तथा बस्तीहरू अहिले खानेपानीको चरम संकटको सामना गरिरहेका छन् । वडाको काफ्ले डाँडा लगायत अन्य क्षेत्रमा रहेका परम्परागत इनारहरू धमाधम सुक्न थालेपछि स्थानीय बासिन्दाहरू अत्यन्तै चिन्तित बनेका छन् ।

एकातिर गर्मी दिनप्रतिदिन चर्कँदै गएको छ भने अर्कातिर पानीका स्रोतहरू सुक्दै जाँदा गाउँमा दैनिक जीवन कष्टकर बन्न थालेको स्थानीयवासी बताउँछन् ।

“पहिले बिहानै उठेर इनारबाट पानी ल्याउँथ्यौं, तर अहिले इनारमा पानी नै छैन,” स्थानीय एक महिलाले भनिन्, “पिउन मात्र होइन, नुहाउने, भाँडा माझ्ने, कपडा धोउने सबै काममा कठिनाइ छ ।”

धेरै परिवारहरूले टाढाको खोला वा अन्य स्रोतबाट पानी ल्याउनुपर्ने बाध्यता छ । ती पनि पूर्णरूपमा सुरक्षित छैनन् । यसले स्वास्थ्यसम्बन्धी समस्या बढ्ने जोखिम समेत निम्त्याएको छ ।

स्थानीय सरकार वा सम्बन्धित निकायले अहिलेसम्म कुनै ठोस वैकल्पिक व्यवस्था नगरेकोप्रति जनताहरू आक्रोशित छन् । “हाम्रो वडामा खानेपानीको समस्या हरेक वर्ष हुन्छ, तर समाधान गर्ने तर्फ ध्यान दिइएको छैन,” वडाबासीको गुनासो छ ।

तर तत्काल समाधान नभए जनजीवन झन् कष्टकर हुने देखिएको छ । यस क्षेत्रका बासिन्दाहरू खानेपानी व्यवस्थापनको दिगो र दीर्घकालीन समाधानको माग गर्दै आएका छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित