Rashtriya Dainik

सरावल गाउँपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा

उमेश बि.क / नवलपरासी ,१७ बैशाख

पश्चिम नवलपरासीको सरावल गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ।

जिल्ला समन्वय समिति नवलपरासीको प्रमुख भगाैती यादव (रुदल) ले बुधबार गाउँपालिकालाई निश्चित इन्डिकेटरका आधारमा पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गर्नुभएको हाे।

पहिलो चरणमा पालिकाका सबै वडालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको र हाल सोही तथ्याङ्क र सूचकका आधारमा पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख ओम नारायण देवकोटाले बताउनुभयाे।

गाउँपालिकाले घरधुरी सर्भेक्षण मार्फत भेटिएका १६ देखि ५९ महिनाका २३०६ जना बालबालिकाहरु मध्ये ५ जना बच्चा पूर्ण खोप नलगाएको पाइएकोले ति बच्चाहरुलाई चैत्र महिनामा खोज र खोप अभियान अन्तर्गत पूर्ण मात्रा खोप लगाईएको थियो । सबै सर्तहरू पूरा गरी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको हो।

जिल्ला समन्वय समितिका प्रमुख भगाैती यादव (रुदल)ले कार्यक्रमलाई सम्बोधन गर्दै सरावल गाउँपालिका एक कदम अगाडि बढेको बताउनुभयो । जिसस प्रमुख यादवले स्वास्थ्य नै जीवनको आधार भएकोले स्वस्थ भएमात्र सबै काम गर्न सकिने बताउनुभयो । गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरेकोमा बधाई ज्ञापन गर्दै उहाँले यस अभियानलाई निरन्तरता र दीगोपना बनाउन आग्रह गर्नुभयो ।

त्यस्तै सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीले पालिकाले हरेक नागरिकलाई स्वस्थ राख्न र स्वास्थ्य सम्बन्धी हरेक आवश्यकता सहजै प्राप्त गर्ने वातावरण बनाउन लागिपरेको बताउनुभयो ।पूर्ण खोप सुनिश्चितता दिगोपना पालिका घोषणा गर्नका लागि सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै स्वस्थ्य क्षेत्रमा पालिकालाई यो उपलब्धि दिलाउने स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकाको आवश्यक माग पूरा गर्न पालिका प्रतिबद्ध रहेको समेत बताउनुभएको थियो ।

त्यस्तै स्वास्थ्य कार्यालय नवलपरासी प्रमुख अगद बहादुर साहिले अब सरावलले भौतिक विकास भन्दा मानवको स्वास्थ्य सुधार, दीर्घ आयू तथा आर्थिक उन्नती विकासमा ध्यान दिन जोड दिनुभएको थियोे।

पालिकाभित्र सात वटा स्वास्थ्य चौकी रहेका छन्। साबिकका तिलकपुर, मनरी, सरावल, बडहरादुबौलिया, रामपुर खडौना र भुजहवा गाविसहरू समेटेर सरावल गाऊपालिका बनेको हो। यस पालिकाभित्र हाल सात वटा वडा रहेका छन्।

पूर्ण खोप सुनिश्चितता पालिका घोषणा कार्यक्रममा ,स्वास्थ्य कार्यालय नवलपरासीको तथ्यांक अधिकृत यवदेव न्याैपाने , सरावल गाउपालिका प्रमुख प्रशासकीय अधिकृत विशाल मिश्रा ,खोप अधिकृत भेषराज रिजाल र खोप अधिकृत ओमप्रकाश पन्थी ,वडा नम्बर ३ वडा अध्यक्ष फिरंगी चाैधरी , सरावल स्वास्थ्य शाखा प्रमुख ओम नारायण देेवकाेटा , मंगलाफपुर स्वास्थ्यचाैकी प्रमुख अदालत चाैधरी लगाएतले आगामी दिनमा समेत पूर्ण खोपको अवस्था कायम राख्न सुझाव दिदै शुभकामना ब्यक्त गर्नुभएको थियो ।


कार्यक्रममा वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, विषयगत शाखा प्रमखहरु, स्वास्थ्यकर्मी, स्वयंसेवीका लगायतको उपस्थिति रहेकाे थियाे । पालिका उपाध्यक्ष बासमति हरिजनकाे स्वागत मन्तब्यबाट सुरुवात भएको कार्यक्रम संचालन स्वास्थ्य शाखा स्टाप नर्स मिरा थापाले सन्चालन गर्नुभएको थियोे ।

पालिका पुर्ण खाेप समन्वय समिति संयाेजक एवं सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीकाे अध्यक्षता तथा जिल्ला समन्वय समिति प्रमुख भगाैती यादव (रुदल) काे प्रमुख आतिथ्यतामा एक कार्यक्रम बिच सरावल गाउँपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएकाे हाे।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित