Rashtriya Dainik

नवलपरासीको सरावललाई पूर्णखोप सुनिश्चित पालिका घोषणाको तयारी, जिल्ला स्तरीय अनुगमन

नवलपरासी , १० वैशाख ।

पश्चिम नवलपरासीको सरावल गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणाको अवस्थामा पुगेको छ ।
पालिका भित्रका १५ महिना भित्रका सम्पूर्ण बालबालिकाहरुले राष्ट्रिय खोप तालिका अनुसार पाउनुपर्ने सबै मात्राका खोप लगाएको प्रमाणीकरण गरिएपछि सरावललाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना पालिका घोषणाको तयारी गरिएको हो ।

पालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणाका लागि मंगलबार जिल्ला खोप समन्वय समितिले अनुगमन गरी भेरिफिकेसन गरेको छ । गाउँपालिकाले खोप लगाउन छुटेका बालबालिकालाई खोजी गरी पूर्ण खोप लगाएपछि जिल्ला खोप समन्वय समितिलाई भेरिफिकेसनका लागि अनुरोध गरेको थियो ।
स्वास्थ्य कार्यालय, विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)का प्रतिनिधि तथा पत्रकारसहितको टोलीले भेरिफिकेसन गरेको हो । टोलीले घरधुरी सर्वेक्षणलाई प्रभावकारी बनाउन र अपुग कागजात तत्काल पूरा गर्न सुझाव पनि दिएको छ ।

टोलीले गाउँपालिकाको स्वास्थ्य शाखा, सरावल स्वास्थ्य चौकी, मंगलापुर स्वास्थ्य चौकी र मनरी स्वास्थ्य चौकीबाट पूर्ण खोप सुनिश्चितताका लागि भएका पूर्वतयारीको विषयमा अनुगमन गरेको थियो । पूर्णखोप सुनिश्चित निर्देशिका बमोजिम माघमा घरधुरी सर्वेक्षण गरी चैत महिनासम्ममा खोप लगाउन छुटेकाहरुको लागि खोप पूरा लगाएको पाईएको स्वास्थ्य कार्यालय नवलपरासीका खोप सुपरभाईजर अधिकृत ओमप्रकाश पन्थीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “पूर्ण खोप सुनिश्चितताका लागि हरेक वर्ष निरन्तरता दिनुपर्छ,अहिलेको अनुगमनमा घरधुरी सर्वेक्षण प्रभावकारी बनाउनुपर्ने देखियो,ड्रपआउट भएका सबै बालबालिकाको अनुसूची अनिवार्य तयार गर्न सुझाव दिएका छौँ”, उहाँले भन्नुभयो, “खोपको सुक्ष्म योजना बनाउँदा खोप छुट हुन सक्ने समुदाय तथा इट्टा उद्योगहरु पनि समावेश गर्नुपर्छ ।”
अब जिल्ला खोप समन्वय समितिको बैठकबाट पालिकालाई घोषणाका लागि अनुमति तथा जानकारी पत्र प्रदान गरेपछि वैशाख महिना भित्रै पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिनेछ । सरावलका ७ वटा वडा मध्ये ४ नम्बर वडा बाहेक अन्य सबै वडा पूर्ण खोप सुनिश्चित वडा घोषणा भइसकेको गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख ओमनारायण देवकोटाले जानकारी दिनुभयो ।

गाउँपालिका भित्रका १६ देखि ५९ महिनासम्मका कूल दुई हजार ३०६ बालबालिका मध्ये खोप लगाउन छुटेका ५ जना बालबालिकालाई छुट भएका सबै खोपहरु लगाइएको प्रमुख देवकोटाले बताउनुभयो । सरावलमा ६ वटा स्वास्थ्य चौकी र एउटा सामुदायिक स्वास्थ्य इकाई गरि साता वटा स्वास्थ्य संस्था रहेका छन् ।
स्वास्थ्य कार्यालयका खोप सुपरभाईजर अधिकृत पन्थीको नेतृत्वमा कार्यालयका वरिष्ठ मेलेरिया निरीक्षक देवीलाल पौडेल, डब्लुएचओका प्रतिनिधि प्रतिक्षा किसुजु,परासी प्रेस क्लवका अध्यक्ष पत्रकार मोहन पौडेल लगायतको टोलीले अनुगमन गरेको हो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित