Rashtriya Dainik

पश्चिम नवलपरासीको पाल्हीनन्दनमा माओवादी केन्द्रको तराई–मधेस जागरण अभियान सम्पन्न

विनोद निगम /पश्चिम नवलपरासी, ३ बैशाख

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को आयोजनामा पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकामा सम्पन्न तराई–मधेस जागरण अभियान तथा भव्य जनसभा कार्यक्रम उत्साहपूर्वक सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ हुनुहुन्थ्यो। उहाँले मधेसका जनताको अधिकार, विकास र पहिचानका विषयलाई आफ्नो सम्बोधनको केन्द्रबिन्दुमा राख्नुभयो।

कार्यक्रममा संविधानसभा सदस्य दुलारी हरिजन, पूर्वमन्त्री घनश्याम यादव, पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ता, पार्टी नेता ध्रुवनारायण बनियाँ, सुरेश गुप्ता, विभिन्न वडाध्यक्षहरू, पार्टी कार्यकर्ता तथा स्थानीय नागरिकको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रचण्डको सम्बोधनमा उठाइएका मुख्य मुद्दाहरू:

१ – महेशपुर भन्सार सुधार – भन्सार क्षेत्रमा खाद्यान्नको सहज आपूर्ति, गुणस्तरीय क्वारेन्टाइन व्यवस्था, तथा व्यापारी र सर्वसाधारणको सुरक्षाका लागि आवश्यक पूर्वाधार विकास।

२-नन्दन ताल संरक्षण तथा पर्यटन प्रवर्द्धन – तालको जैविक विविधता र पर्यटन सम्भावना संरक्षण गर्न दीर्घकालीन योजना बनाउने।

३ -हुलाकी सडक निर्माणमा तीव्रता – ढिलाइ भइरहेको सडक निर्माण कार्यलाई आवश्यक बजेट र निगरानीसहित अघि बढाउने।

४ – शिक्षक आन्दोलन र माग सम्बोधन – शिक्षकहरूको स्थायीत्व, सेवा सुरक्षालगायतका माग समाधान गर्न ऐन, नियमावलीमा संशोधनसहित सरकारलाई दबाव दिने।

तराई–मधेसका जनताको हक, पहिचान र समावेशी विकास सुनिश्चित गर्ने नीति र कार्यक्रम।

मधेसका नागरिकमाथि गरिएको विभेदको अन्त्य र पूर्ण समानताको प्रत्याभूति।

अध्यक्ष प्रचण्डले भने, “हामीले गरेको १० वर्षे जनयुद्ध, त्यसपछिको आन्दोलन र गणतन्त्र स्थापनामा मधेस–तराईका जनताको योगदान अमूल्य छ। अब हामी उनीहरूको सपना पुरा गर्ने दिशामा गम्भीर छौं।”

कार्यक्रमको उद्देश्य

तराई–मधेस क्षेत्रका जनतालाई पार्टीको नीति, उद्देश्य र भावी कार्यदिशा बारे जानकारी गराउने, स्थानीयस्तरका समस्या सुन्ने र जनताको भावना पार्टी नेतृत्वसम्म पुर्‍याउने अभियानको रुपमा यो कार्यक्रम सञ्चालन गरिएको हो।

संविधानसभा सदस्य दुलारी हरिजनले महिलाको अधिकार र दलित समुदायको सशक्तिकरणमा माओवादी आन्दोलनको योगदानलाई उल्लेख गर्दै, “हामीले जति अधिकार ल्याएका छौं, त्यो अझै कार्यान्वयनमा ल्याउन प्रचण्डको नेतृत्व आवश्यक छ,” भन्नुभयो।

स्थानीय जनप्रतिनिधिहरूको माग
कार्यक्रममा स्थानीय नेताहरूले कृषि अनुदान, सडक सञ्जाल विस्तार, स्वास्थ्य सेवा, शिक्षा सुधार लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए।

सांस्कृतिक प्रस्तुति र जनसंवाद

कार्यक्रममा स्थानीय सांस्कृतिक टोलीले राष्ट्रिय एकता, समानता र समृद्धिको सन्देश बोकेका गीत–नृत्य प्रस्तुत गरेका थिए। अन्त्यमा, पार्टी अध्यक्षले स्थानीय जनप्रतिनिधिहरूसँग छुट्टै बैठक गर्दै विकासका सम्भावना र चुनौतीका विषयमा छलफल गर्नुभएको थियो।

प्रतापपुर र परासीमा थप कार्यक्रम

जनसभा सम्पन्न गरेपछि अध्यक्ष प्रचण्डले प्रतापपुर गाउँपालिकामा आयोजित अर्को सभालाई सम्बोधन गर्दै पार्टी संगठन सुदृढीकरण, युवा परिचालन, तथा स्थानीय विकासमा पार्टीको ध्यान केन्द्रित रहेको बताए।

त्यसपछि सदरमुकाम परासीमा सरोकारवालासँग अन्तरक्रियात्मक छलफल गर्दै उहाँले जनताको प्रत्यक्ष सरोकारका विषयहरू — प्रशासनिक सेवा प्रवाह, भष्ट्राचार नियन्त्रण, रोजगारी सिर्जना, स्वास्थ्य र शिक्षा —बारे गहन छलफल गर्नुभयो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित