काठमाडौं ,२९ चैत्र
नेपाली कांग्रेसकी सांसद नागिना यादवले चैत्र १५ गतेको घटनाका बेला आफू मन्त्री भए दुर्गा प्रसाईँलाई ‘सुट’ गर्न आदेश दिने बताएकी छन्। शुक्रबार प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा बोल्दै सांसद यादले यस्तो बताएकी हुन्।
‘जुन हिसाबले निषेधित क्षेत्र घोषणा गरेको क्षेत्रमा जबरजस्ती घुसेको छ। मैले बोल्न मिल्छ/मिल्दैन, यदि सायद म मन्त्री भएको भए ‘सुट’ गर्देऊ भनेर आदेश दिन्थेँ,’ गृहमन्त्री रमेश लेखक उपस्थित बैठकमा सांसद यादवले भनिन्,‘त्यत्रो सुरक्षाकर्मीलाई पेलेर जाने ? कहाँ सम्मको नैतिकता हो ? उसले गर्न खोजेको के हो ? उ सर्वोपरि हो? जे बोले पनि भयो, जे गरे पनि भयो? त्यत्रो सुरक्षाकर्मीले मुक्काले सिसा फुटाएको छ। बुलेट प्रुफ गाडी चढेर आएको छ, सुरक्षाकर्मीलाई पेलेर हिँडेको छ। त्यो त सबैले देखेको छ।’
त्यो दिन पहिला प्रहरीको हतियार खोसेको समाचार आएको र त्यसपछि मात्रै गोली चलेको पनि सांसद यादवले बताइन्। ‘सबै प्रहरीको हतियार खोसिदिएको भए के हुन्थ्यो?,’ उनले भनिन्। यो हदसम्मको अराजकताको अनुसन्धान भएर दोषीमाथि कारबाही हुनुपर्ने उनले बताइन्।
सांसद यादवले सुरक्षाकर्मीलाई सुरक्षाका साधन बिना मैदानमा खटाउने गरेको पनि बताइन्। ‘यता सुरक्षाकर्मीका तर्फबाट हेर्दाखेरि, विचरा ती सुरक्षाकर्मी आफ्नो सुरक्षाका लागि एउटा लट्ठी र एउटा एउटा सिसाको ब्लक, मोटरसाइकलको हेलमेट मात्रै। मैदानमा खटिदा अन्य इक्विपमेन्ट दिनुपर्दैन त?,’ उनले भनिन्।
प्रहरीको अवस्था देख्दा आफूलाई दुख लाग्ने पनि सांसद यादवले बताइन्। उनले भनिन्, ‘त्यसको सुरक्षा कसले गर्ने ? त्यो मानव होइन ? ढुंगामुडा गरेको देख्दा जिउ सिरिङ भएर आउँछ। ती त हाम्रो जनताको सुरक्षाका लागि खटिएका हुन नि त।’
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

