सुरेश यादव / नवलपरासी ,२९ चैत
पश्चिम नवलपरासीको सदरमुकाम परासीको प्रवेशद्वारमा बनाइएको निलो गेटमा निर्दल झल्किने रङ लगाएको भन्दै जिल्लाका विभिन्न राजनीतिक दलका नेताहरूले आपत्ति जनाएका छन्। सुनवल-परासी सडक खण्डमा यसअघि निलो रहेको गेटलाई अहिले रामग्राम नगरपालिका पहेँलो बनाएर रामग्राम स्तुप र बुद्धको मुर्तिसहित रंगरोगन काम सुरु गरिएको भन्दै नेताहरूले आपत्ति जनाएका हुन्। उनिहरुले रामग्राम स्तुप र बुद्धको मुर्ती माथीबाट पहेँलो रंगलाई हटाएर तीन दिनभित्र निलो बनाई दिन नगरपालिकालाई अल्टिमेटम दिएका छन्। यदि त्यसो नभए आफुहरुले पहेलो रंगलाई हटाएर निलो बनाईदिने चेतावनी दिएका छन् ।
तत्कालीन आदर्श गाउँ पञ्चायतका अध्यक्ष प्रकाशचन्द्र श्रेष्ठले २०३९ सालमा उक्त गेट निर्माण गर्नुभएको थियो । करिब ४२ वर्षअघि निर्माण गरिएको पहेँलो रङको गेटमा निर्दलीय व्यवस्था रहेको भन्दै २०४६ सालमा भएको आन्दोलनका क्रममा प्रदर्शनकारीहरुले त्यसलाई निलो बनाएका थिए। २०३६ सालमा पहेंलो रंग निर्दल र निलो रङ बहुदलको राखेर जनमत संग्रहको चुनाव भएको थियो।
‘निर्दलविरुद्ध भएको आन्दोलनका क्रममा गेटमा रहेको पहेँलो रङलाई हटाएर निलो बनाइएकोमा अहिले आएर फेरि पहेँलो बनाउदा लोकतन्त्रवादीको आन्दोलनमाथि अपमान हुने जनता समाजबादी पार्टि (जसपा) नेपालका जिल्ला अध्यक्ष धरेन्द्र यादवले बताएका छन्। उहाले नगरपालिकाले तीन दिनभित्र निलो रंग नबनाए स्थानीय जनताहरुको सहभागितामा गेटलाई पुनः निलो बनाउने बताएका छन् ।
लोकतान्त्रिक समाजबादी पार्टी (लोसपा)का केन्द्रीय सदस्य पुरन चौधरीले चारैतिर निलो गेट भनेर पहिचान बनिसकेकाले त्यसलाई नमेटाई सबैको भावनाअनुसार निलो नै बनाउदा उचित हुने बताएका छन् । यस्तै नेपाली कांग्रेस महासमिति सदस्य राधेश्याम पाठकले निलो रङ बहुदल आन्दोलनसँग मात्र नजोडिएको भन्दै सरकारी योजना र परासीको पहिचान रहेकाले पुनः निलो रङ कायम हुनुपर्नेमा जोड दिएका छन्।
यता रामग्राम नगरपालिका नगर प्रमुख धनपद यादवले पहेंलो रङ बनाउनुमा कुनै राजनीतिक कारण नभएको बताएका छन् । उहाले रामग्रा नगरपालिका भगवान गौतम बुद्धको एक मात्र अस्तुधातु रहेको रामग्राम स्तूपको नामबाट नामकरण भएको भन्दै ‘रामग्राम बुद्धसँग जोडिएको र पहेंलो रङ सम्बन्धित भएकाले प्रवेश गेटमा पहेंलो रङ लगाइएको बताउनुभयो । अन्यथा यसमा अरू कुनै पनि कारण नरहेको बताउदै उहाले नयाँ घर बनाउनेहरुले पहेंलो रङ लगाए नक्सा पासमा ५० प्रतिशत छुट दिने निर्णय भएको जानकारी दिनुभएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

