सुरेश यादव / नवलपरासी ,२३ चैत
पश्चिम नवलपरासीको हुलाकी राजमार्ग भिमटाँडीदेखि सरावल गाउँपालिका जोड्ने करिब २२ सय मिटरको सडक चार वर्षसम्म नबनेपछि आन्दोलनमा जाने चेतावनी दिएको छ।

लुम्बिनी प्रदेश सरकारको तीन करोड ७८ लाखको लागतमा २०७८ वैशाखमा बर्दघाट कन्ट्रक्सनसंग ठेक्का सम्झौता भई सोही चैत मसान्तभित्र निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता थियो ।तर ठेकेदार कम्पनीको चरम लापरवाहीका कारण ढिलाइ भएपछि समस्यामा परेका स्थानिय तथा पालिकाले असन्तुष्ट जनाएका छन् ।

सरावल गाउपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले आफू निर्वाचित भएर आएदेखि नै सडक निर्माणको काम छिटो सम्पन्न गर्न पटक-पटक आग्रह गर्दै आएको बताउनुभएको छ । उहाले अटेरी गरी समयमा सडक निर्माण नगर्ने ठेकेदार कम्पनीलाई कारवाहीको गर्न माग गर्दै चालु आर्थिक वर्षको अन्त्यसम्म पनि काम सम्पन्न नभए आन्दोलनमा जाने चेतावनी दिनुभएको छ।
सडक निर्माणको जिम्मा पाएको महेश-नवीन जेभी कन्ट्रक्सन बर्दघाटले आर्थिक अभावको कारण देखाउँदै सडक निर्माणको काम अलपत्र बनाएपछि स्थानीयदेखि सडक भएर यात्रा गर्ने यात्रुहरु समस्या भोग्न बाध्य भएका छन् । अहिले नाला, कल्भर्टलगायतका ६० प्रतिशत काम सम्पन्न भइसकेको सडकमा बेस निर्माण गरी कालोपत्रे गर्न काम बाँकी छ । तर ठेकेदार कम्पनीले बेस निर्माणका लागि सडकमा राखेको मिस्कट लामो समयदेखि अलपत्र राख्दा खराब बाटो,धुलो र हिलोका कारण दुर्घटनाको जोखिम बढ्दै गएको छ।
यता सडक पूर्वाधार विकास कार्यालय परासीले हालसम्म निर्माण कम्पनीले एक करोड ६३ लाख भुक्तानी पाईसकेको र चालु आर्थिक वर्षमा ७५ लाख विनियोजन गरिएको जनाएको छ । कार्यालयका प्राविधिक अधिकृत सन्तोष कुमार चौधरीले चालु आर्थिक वर्षको वैशाखभित्र निर्माण कम्पनीले काम सम्पन्न नगरे ठेक्का तोडेर कारवाही प्रक्रिया अघि बढाउने अन्तिम चेतावनी दिनुभएको छ। कार्यालयको ताकेतापछि निर्माण कम्पनी महेश नवीन जेभीले पत्र पठाएर यहि चैत २३ गतेदेखि काम शुरु गरि वैशाख मसान्तभित्र निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

