सुरेश यादव / नवलपरासी ,२३ चैत
बुटवल–नारायणगढ सडक खण्डको दाउन्ने क्षेत्रमा २० दिन सवारीसाधन रोकेर सडक विस्तारको काम गरिने भएको छ ।
पश्चिम र पूर्वी नवलपरासीका सरोकारवालाहरुको दाउन्नेमा बसेको संयुक्त बैठकले यातायात रोकेर भएपनि दाउन्ने क्षेत्रमा सडक विस्तारको कामलाई तीव्रता दिने निर्णय गरिएको जिल्ला समन्वय समिति पश्चिमका प्रमुख भगौती यादवले जानकारी दिनुभयो ।उहाले यहि चैत २७ देखि ३१ गतेसम्म विहान ११ देखि दिउँसो ३ बजेसम्म ४ घण्टा र आगामी वैशाख १ देखि पन्ध्र गतेसम्म राति ११ देखि विहान ५ बजेसम्म ६ घण्टा अत्यावश्यक बाहेकका सवारी साधनलाई सञ्चालनमा रोक लगाइने बताउनुभएको छ ।
अहिले दाउन्नेमा पहाड काट्ने, पर्खाल लगाउने र कल्भर्ट निर्माणको काम भइरहेको छ, जसले गर्दा सवारीसाधन घण्टौँ जाममा पर्दा आवात जावत कष्टकर बन्दै गएको छ । बर्दघाटदेखि दुम्किबाससम्मको १३ किलोमिटर दुरी पार गर्न झण्डै ७/८ घण्टा लाग्ने गरेको यात्रुहरुले गुनासो गरेका छन् । यस्तै बैठकले उक्त सडक खण्डमा सवारी साधन बिग्रेर सडक अवरुद्ध भएमा तत्काल सवारी साधनलाई हटाइ सडक सुचारु गर्न उपकरण र जनशक्तिसहितको टीम २४ घण्टा तैनाव अवस्थामा राख्न आयोजनालाई निर्देशन दिएको छ ।
नारायणगढ–बुटवल सडकको ११४ किलोमिटरअन्तर्गत गैँडाकोटबाट दाउन्नेसम्मको ६५ किलोमिटरमध्ये बजार क्षेत्रमा सर्भिस लेनसहित छ र जोखिम बढिरहेको क्षेत्र मानिने दाउन्नेको १४ किलोमिटर खण्डमा तीन लेनको सडक विस्तारको काम भइरहेको छ । जसमा बुटवलदेखि दाउन्नेसम्मको ४८.५८ किलोमिटर सडक खण्ड अन्तर्गत ३२ किलो मिटर एकतर्फी कालोपत्रे भैसकेको र दाउन्नेदेखि गैडाकोटसम्मको ६४.४२ किलोमिटर सडक अन्तर्गत ५० किलो मिटर एकतर्फी कालो पत्रे भैसकेको छ।
१७ अर्बको लागतमा २०७९ साल साउनमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको चाइना स्टेट कम्पनिले २०७५ साल चैत्र महिनामा काम शुरु गरेको हो।निर्धारित समयमा काम सम्पन्न नभएपछि तेस्रो पटक २०८२ साउनसम्मका लागि म्याद थप गरिएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

