आरपि उपाध्याय / नवलपरासी ,२२ चैत
नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्य समिति पश्चिम नवलपरासीले आउदै गरेको नयाँ वर्षको शुभकामना आदानप्रदान सहित भित्ते क्यालेन्डरको विमोचन कार्यक्रम सम्पन्न गरेको छ।
“राष्ट्र सेवा निष्पक्षता र कर्मचारी एकताको नारा” सहितको कार्यक्रम बर्दघाट नगरपालिकाको सभा हलमा आज सम्पन्न भएको हो।

नेपाल निजामती कर्मचारी युनियन पश्चिम नवलपरासीका अध्यक्ष सुन्दर खनालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।
कार्यक्रमको प्रमुख अतिथि समेत रहनु भएका लुम्बिनी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री देवकरण कलवारले भित्ते क्यालेन्डरको विमोचन गर्दै मुलुकलाई प्रगतिको पथमा लैजाने महानतम कार्य कर्मचारीद्वारा नै हुँदै आएको बताउनु भयो।
मन्त्री कलवारले राज्यले नियम,कानुन बनाए पनि बनाइएको कानुनलाई कार्यान्वयन गर्ने दायित्व कर्मचारीकै भएकोले कर्मचारी वर्गको इमानदारी र जिम्मेवारीबाट नै मुलुक समृद्धि तर्फ बढ्ने जिकिर गर्नुभयो ।
कर्मचारीको सरुवा हचुवाको भरमा गर्न नहुने बताउदै मन्त्री कलवारले राष्ट्र सेवक कर्मचारीहरुको मनोबल बढाउनुको साथै उहाँहरुको सेवा सुविधालाई पनि ख्याल गर्नुपर्ने विचार व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा नेपाल निजामती कर्मचारी युनियनका केन्द्रिय सदस्य सुनिल लामिछानेले वैचारिक आस्थाको रुपमा संगठन गर्न पाउनु राम्रो पक्ष रहेको बताउदै नेपाल निजामती कर्मचारी युनियनले केन्द्र,प्रदेश र स्थानीय तहमा निष्ठाको सेवा गर्दै आउनु भएको अवस्थामा कर्मचारी अनुकुलको ऎन खोजी गर्दै आए पनि सो प्राप्त हुन नसकेको पीडा यथावत नै रहेको विचार राख्नुभयो।
सो अवसरमा कर्मचारी युनियनका पुर्व अध्यक्ष सनथ गिरीले स्थानीय तहमा काम गर्ने कर्मचारी प्रतिको दृष्टिकोण सकारात्मक गर्न सबै निकाय गम्भीर हुनुपर्ने धारणा राख्नुभयो।
कार्यक्रममा कर्मचारी युनियनका जिल्ला उपाध्यक्ष महेन्द्र रेग्मी,सल्लाहकार समितिका संयोजक श्यामलाल न्यौपाने, बर्दघाट नगरपालिका का प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनाल लगायतले आफ्नो विचार सहितको शुभकामना मन्तव्य व्यक्त गर्नुभएको युनियनका जिल्ला सचिव कमल भट्टराईले जानकारी दिनुभएको छ।

कार्यक्रममा कर्मचारी युनियनका पालिका अध्यक्ष,क्षेत्र,प्रदेश र केन्द्रीय प्रतिनिधिहरु, जिल्ला कार्यसमितिका पदाधिकारी सहित प्रतिनिधिहरुको पनि कार्यक्रममा सहभागीता रहेको आयोजकले बताएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

