सुरेश यादव / नवलपरासी ,२० चैत
पूर्वराजा समर्थित समूहले गरेको हिंसात्मक आन्दोलनमा पत्रकारको हत्या तथा सञ्चार गृहमा आगजनी र तोडफोडको घटनामा संलग्नलाई कारबाहीको माग गर्दै नेपाल पत्रकार महासंघ नवलपरासीले जिल्ला प्रशासन कार्यालयमार्फत नेपाल सरकारलाई ज्ञापनपत्र पठाएको छ ।
केन्द्रको निर्देशन अनुसार नेपाल पत्रकार महासंघ जिल्ला शाखाका अध्यक्ष केशब पराजुलीको नेतृत्वमा संचारकर्मीहरुको टोलीले जिप्रकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुनप्रसाद रेग्मीलाई सो ध्यानाकर्षण पत्र बुझाएको हो।
गत चैत्र १५ गते भएको राजावादीको हिंसात्मक प्रदर्शनका क्रममा एभिन्यूज टेलिभिजनका पत्रकार सुरेश रजकको जलेर मृत्यु भएको थियो । साथै अन्नपूर्ण पोष्टको भुइँ तल्लामा आगजनी, कान्तिपुर टेलिभिजनको भवनमा ढुंगामुढा प्रहार, हिमालयन टेलिभिजनको सवारी साधनमा तोडफोड भएको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ । साथै पत्रकार दिनेश गौतममाथि आक्रमण हुदा उहाको खुट्टा भाँचिएको र फोटो पत्रकार निराज तामाङको क्यामेरा समेत हराएको उल्लेख छ।
महासंघले उक्त घटनामा संलग्नलाई कानुनी दायरामा ल्याई कारबाही गर्न, पीडितलाई न्याय दिलाउन र पत्रकारहरुको सुरक्षाका लागि प्रभावकारी व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ । साथै प्रेस स्वतन्त्रताको रक्षा गर्न राज्य गम्भिर नभए थप आन्दोलन गर्ने चेतावनी समेत दिएको छ ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

