Rashtriya Dainik

विश्व पानी दिवसमा भजन किर्तनमार्फत जनचेतना फैल्याउदै

प्रकाश न्यौपाने /नवलपरासी, चैत ९ –

विश्व पानी दिवसको अवसरमा नवलपरासीमा भजन किर्तनको माध्यमबाट पानीको महत्वबारे जनचेतना फैलाइएको छ। राष्ट्रिय लोक भजन चुट्का संस्कृति संरक्षण प्रतिष्ठान नेपालले पानीको संरक्षण र महत्वबारे सन्देश प्रवाह गर्न सांस्कृतिक प्रस्तुति गरेको हो।

शनिबार सुनवल नगरपालिका–४ स्थित सुनवल खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको परिसरमा आयोजित कार्यक्रममा “भविष्यका लागि पानी जोगाऔं”, “भू-उपयोग र संरक्षण गरौं”, “बृक्षारोपण गरी ताल, तलैया र हिमनदी बचाऔं” भन्ने सन्देशमूलक भजन प्रस्तुत गरिएको थियो।

खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नवलपरासीको आयोजनामा तथा खानेपानी तथा सरसफाई कार्यालय परासी, सामुदायिक रेडियो परासी, र सुनवल खानेपानी संस्थाको सहकार्यमा कार्यक्रम सम्पन्न भयो।

कार्यक्रममा जिल्ला समन्वय समिति नवलपरासीका प्रमुख भगौती यादव रुदल प्रमुख अतिथि रहनुभएको थियो भने खानेपानी जिल्ला महासंघ नवलपरासीका अध्यक्ष देविदत्त सापकोटाले अध्यक्षता गर्नुभएको थियो।

सो अवसरमा लुम्बिनी प्रदेश खानेपानी तथा सरसफाई महासंघका अध्यक्ष थानप्रसाद गैरे, खानेपानी तथा सरसफाई कार्यालयका प्रमुख इन्जिनियर प्रकाश न्यौपाने, सुनवल नगरपालिका वडा नं. ४ का अध्यक्ष बालकृष्ण पंगेनी, जिल्ला महासंघका सल्लाहकार बृहस्पती अधिकारी, स्वास्थ्य कार्यालय नवलपरासीका तथ्यांक अधिकृत यवदेव न्यौपाने, सुनवल खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष विष्णुप्रसाद न्यौपाने, वर्दघाट खानेपानी संस्थाका अध्यक्ष दीपक लम्साल, र सामुदायिक रेडियो परासीका प्रवन्ध निर्देशक मेघराज गौतम लगायतले पानीको महत्वबारे विचार व्यक्त गर्नुभएको थियो।

कार्यक्रमका बारेमा जानकारी दिँदै खानेपानी महासंघ नवलपरासीका जिल्ला सचिव मुक्तिबहादुर भण्डारीले पानीको दिगो व्यवस्थापन, सरसफाइ, र संरक्षणमा सबैको सहयोग आवश्यक रहेको बताउनुभयो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित