Rashtriya Dainik

पाल्हीनन्दन गाउँपालिका अध्यक्ष गुप्ता लागूऔषध कारोबारमा दोषी ठहर

सुरेश यादव / नवलपरासी ,२१ फागुन

पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता (दीपक) लागूऔषध कारोबारमा दोषी ठहर भएका छन् ।

जिल्ला अदालत पश्चिम नवलपरासीकाे न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले अध्यक्ष गुप्ता र गाउँपालिकाका नगर प्रहरी रघुनाथप्रसाद धोबीलाई कसुरदार ठहर गरेको हो ।

अदालतले गुप्ता र धोबीलाई कसुरदार कायम गरेको र सजाय निर्धारणका लागि आगामी फागुन २९ गतेलाई पेसी तोकिएको सूचना अधिकारी भेषराज खनालले जानकारी दिएका छन्।

कसुरदार कायम गरिएका धोबी २०७९ असोज २६ गतेदेखि पुर्पक्षका लागि थुनामै रहेका छन्। सोही मुद्दाका आरोपित रामा साह र जितेन्द्र पासवानले यसअघि नै सफाइ पाइसकेका थिए भने पाल्हीनन्दन गाउँपालिका ३ का मन्टु भनिने विवेक प्रसाद पाण्डे फरार रहेका छन्।

गाउँपालिका अध्यक्ष गुप्ताको निर्देशनमा रघुनाथ प्रसाद धोबी र मन्टु भनिने विवेकप्रसाद पाण्डेले रामा र जितेन्द्रलाई लागुऔषध कारोबारमा फसाउन खोजेको अदालतले ठहर गरेको हो। रामा र जितेन्द्र भारतीय नागरिक हुन्। रघुनाथ र विवेकले २०७९ साल असार २२ गते रामग्राम नगरपालिका वडा नं. १७ पिपरिहयामा रामा र जितेन्द्र चढेको मोटरसाइकल नजिकै लागुऔषधको झोला फ्याँकेर भागेका थिए।

प्रहरीले रामा र जितेन्द्रको मोटरसाइकल नजिकै लागुऔषध डाइजेपाम, नुर्फिन र फेनारगन बरामद भएको भन्दै मुद्दा चलाएको थियो। प्रहरीले गुप्तासँगको मिलोमतोमा निर्दोष भारतीय नागरिकलाई फसाउन खोजेको भन्दै आलोचना समेत भएको थियो। सोही घटनाको विषयलाई लिएर तत्कालीन एसपी ऋषिराम कँडेलको सरूवासमेत भएको थियो।

कवाड व्यवसाय सञ्चालन गर्दै आएका अध्यक्ष गुप्तासँग रामा र जितेन्द्रले कवाड सामानको कारोबार गर्दै आएका थिए। आरोपित गुप्ता र पीडितहरूबीच कवाड सामानको १ करोड ३५ लाख रुपैयाँ लेनदेनको विषयलाई लिएर विवाद सुरू भएको थियो। सोही विवादपछि अध्यक्ष गुप्ताले निर्दोष व्यक्तिहरूलाई फसाउन खोजेको भन्दै कसुरदार कायम गरिएको हो। लागुऔषध अभियोगमा २ वर्षदेखि १० वर्षसम्म कैद र १ लाखदेखि २० लाख रुपैयाँसम्म जरिवाना हुने फैसलामा भनिएको छ।

लागुऔषध कारोबारमा अध्यक्ष गुप्ताको प्रत्यक्ष संलग्नता नरहेको तर, निर्दोष व्यक्तिहरूलाई झुटो मुद्दामा फसाउन खोजिएकोले आधा सजाय हुने सूचना अधिकारी खनालले जानकारी दिएका छन्।

अध्यक्ष गुप्ता माओवादी केन्द्रबाट दोस्रोपटक गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित