Rashtriya Dainik

नवलपरासी बेलाशपुर घटनाको सर्वपक्षीय छानविन गर्न आरसीपी नेपालको माग

नवलपरासी/ १४ फागुन – मोहन बैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जिल्ला समिति नवलपरासीले पाल्हीनन्दन गाउँपालिका –३ बेलाशपुरमा भएको झड्पको घटनामा स्थानीय प्रशासन तथा सरोकारवालाबाट सुरक्षा कमजोरी भएको जनाएको छ । पार्टीका जिल्ला सेक्रेटरी रवि पाण्डेयद्वारा प्रकाशित प्रेस बक्तब्यमा भर्खर सरुवा भएर जिल्लामा आउने प्रमुख जिल्ला अधिकारी आइ नसक्नु , स्थानीय प्रशासनले गृहको मुख ताक्नुपर्ने अवस्था र जिल्ला सुरक्षा समितिको निर्णय क्षमता, घटनामा समयमै दमकल र एम्बुलेन्स नपु्ग्नु जस्ता परिघटनाको अध्ययनबाट स्थानीय प्रशासन तथा सरोकारवालाबाट सुरक्षा कमजोरी भएको उल्लेख गरिएको छ ।
साथै, पार्टीले उक्त घटनाको उचित सर्बपक्षीय छानविन गरी घटनामा संम्लग्नहरु माथि हदै सम्मको कारवाहीको माग गरेको छ ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जिल्ला समिति नवलपरासीले जारी गरेको प्रेस बक्तब्यको पुर्णपाठ यस प्रकार रहेको छ –
‘२०८१ फागुन १३ गते भएको दुई स्थानीय समुदायबीच विवाद र त्यसबाट उत्पन्न झड्प प्रति हाम्रो पार्टीको गम्भिर ध्यानाकर्षण भएको छ । २१ औं शताब्दीमा पनि प्रेम सम्बन्धको बिषयलाई लिएर भएको यस घटनाले हाम्रो पार्टीलाई निकै दुःखित बनाएको छ । उक्त असामाजिक घटनाको हामी घोर निन्दा तथा भत्र्सना गर्न चाहन्छौ ।
समाजमा अन्तरबिरोधहरु जेलिएर रहेका हुन्छन् । त्यसैले अन्तरबिरोधहरुको सही पहिचान र त्यसको समाधान उचित ढंगले गरिनु आवश्यक हुन्छ । यस्ता घटनामा समुदाय निकै सर्तक हुनु नै पर्दछ । स्थानीय बासिन्दाले नै सहिष्णुता कायम गर्न हर प्रयत्न गरिनुपर्दछ । यद्धपि स्थानीयवासीको यत्न प्रयत्नले मात्र घटना रोकिने अवस्था नहुन पनि सक्छ । त्यसैले स्थानीय प्रशासनले समयमै सुक्ष्म अध्ययन, अनुसन्धान, बिष्लेषण र संष्लेषण गरेर नियन्त्रणको पूर्व तयारी गरिनुपर्दथ्यो ।
भर्खर सरुवा भएर जिल्लामा आउने प्रमुख जिल्ला अधिकारी आइ नसक्नु , स्थानीय प्रशासनले गृहको मुख ताक्नुपर्ने अवस्था र जिल्ला सुरक्षा समितिको निर्णय क्षमता, घटनामा समयमै दमकल र एम्बुलेन्स नपु्ग्नु जस्ता परिघटनाको अध्ययनबाट स्थानीय प्रशासन तथा सरोकारवालाबाट सुरक्षा कमजोरी भएको हाम्रो पार्टीको ठहर रहेको छ । साथै झड्पलाई नियन्त्रणमा लिन प्रहरीले ३ राउण्ड हवाई फायर र ५ राउण्ड अश्रुग्यास प्रहार गर्नुपरेको र ५ सुरक्षाकर्मी र १६ जना स्थानीय घाइते भएको मध्ये ३५ बर्षीय बिजय धवलको निधन समेत हुनु पुगेको छ । अतः हामी मृतक प्रति श्रद्धाञ्जली ब्यक्त गर्दै मृतकको परिवारजन प्रति समबेदना ब्यक्त गर्दछौ । हाम्रो पार्टी घटनामा घाइते भएकाहरुको उपचारको उचित ब्यवस्था र घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछ । त्यसैले यस्ता घटना दोहोरिन नदिनका लागि अझ पूर्व सर्तकता अपनाउन हामी स्थानीय प्रशासनसंग आग्रह गर्दछौ ।
अतः यस्ता असामाजिक घटना सभ्य समाजका लागि पाच्य हुनै सक्दैन । त्यसैले हाम्रो पार्टी उक्त घटनाको उचित सर्बपक्षीय छानविन गरी घटनामा संम्लग्नहरु माथि हदै सम्मको कारवाहीको माग गर्दछ ।’

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित