Rashtriya Dainik

सङ्घीय मामिलामन्त्री गुप्तासँग नर्वेकी राजदूत ड्रामडालको भेट, निजामती विधेयकबारे चासो व्यक्त

बिरगंज ,७ फागुन

नेपालका लागि नर्वेकी राजदूत तोरन ड्रामडालले सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तासँग शिष्टाचार भेट गर्नुभएको छ ।
राजदूत ड्रामडालले मन्त्री गुप्तासँग सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा हिजो मंगलबार भेट गर्नुभएको हो । भेटका अवसरमा नेपाल र नर्वेको द्विपक्षीय हितका साथै समसामयिक विषयहरूमा छलफल भएको मन्त्री गुप्ताले जानकारी दिनुभयो ।

भेटमा मन्त्री गुप्ताले प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम (पीएलजीएसपी) लाई नेपाल सरकारको सङ्घीयतामा आधारित प्रमुख कार्यक्रम ‘फ्लागशीप कार्यक्रम’ बनाउन सहयोग गरेकामा नर्वेलगायत विकास साझेदारहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो । ‘नर्वे नेपालको महत्वपूर्ण विकास साझेदार हो,’ मन्त्री गुप्ताले भन्नुभयो, ‘नेपाललाई आफ्नो दीर्घकालीन विकासको साझेदार मुलुकमा राख्नुभएकोमा म धन्यवाद व्यक्त गर्न चाहान्छु ।’ नेपाल र नर्वेबीच सन् १९६४ देखि द्विपक्षीय साझेदारी रहँदै आएको छ ।


त्यस्तै मन्त्री गुप्ताले जलवायु परिवर्तन विश्वकै सरोकारको विषय बनेको र नर्वेले यस विषयमा गरेको कामको उच्च प्रसंशा गर्नुभयो । जलवायु परिवर्तनबाट हिमाल र हिम श्रृङ्खलाहरूलाई जोगाउन नेपालले अन्तर्राष्ट्रिय मञ्चहरूमा हिमालको मुद्दाको पक्षमा वकालत गर्दै आएको स्मरण राजदूत ड्रामडाललाई गराउनुभयो ।
यसैगरी, नेपाल सन् २०२६ सम्ममा अति कम विकसित मुलुकबाट स्तरोन्नति हुन लागेको चर्चा गर्नुहुँदै सो ऐतिहासिक उपलब्धि हासिल गर्न नेपाललाई नर्वेलगायत विकास साझेदारहरूबाट स्रोतसाधन, प्राविधिक सहायता र आर्थिक साझेदारी आवश्यक रहेको उल्लेख गर्नुभयो । मन्त्री गुप्ताले नर्वे प्रशासनिक विकेन्द्रीकरणको राम्रो नमूना भएको समृद्ध मुलुक भएकाले त्यसबाट नेपालले पनि धेरै कुरा सिक्न सक्ने उल्लेख गर्नुभयो ।

मन्त्री गुप्तासँगको भेटमा राजदूत ड्रामडालले ‘पीएलजीएसपी’ को ‘ज्वाइन्ट फाइनान्सियल एग्रिमेन्ट’ को संशोधनमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खेलेको भूमिकाको उच्च प्रशंसा गर्नुभयो । उहाँले ‘सङ्घीय निजामती सेवा विधेयक’को पछिल्लो अवस्थाबारे चासो व्यक्त गर्नुहुँदै मन्त्री गुप्तासँग विस्तृत जानकारी समेत लिनुभएको छ । त्यस सम्बन्धमा मन्त्री गुप्ताले भन्नुभयो, ‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथिको व्यापक छलफल सकिएको छ । अहिले हामी दफावार छलफलमा छौँ ।

यही संसद अधिवेशनबाट विधेयक पारित गराउनेगरी काम गरिरहेका छौँ ।
यसैगरी राजदूत ड्रामडालले सङ्घीयता कार्यान्वयन र विशेषगरी अन्तरसरकारी समन्वयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (ओपीएमसीएम) को थप सक्रिय भूमिकाका लागि मन्त्री गुप्ताको समन्वयको अपेक्षा गरेको बताउनुभयो भने मन्त्री गुप्ताले त्यसतर्फ आफ्नो पहल जारी रहेको जानकारी दिनुभयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित