Rashtriya Dainik

कांग्रेस सत्तापक्ष भए पनि सरकारमा छैन : सांसद शेखर कोइराला

काठमाडौं ,फागुन ६- नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले कांग्रेस सत्तापक्ष भए पनि अहिले सरकारमा नरहेको टिप्पणी गरेका छन् ।

मंगलवार काठमाडौंमा नेपाल प्रेस युनियनका शाखा अध्यक्षहरुले राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै उनले भने, ‘हामी सरकार बाहिर छौँ, सत्ता पक्षमा छौँ तर सरकारमा छैनौँ । हामीले यो सरकारलाई खबरदारी गरिरहनुपर्ने आवश्यकता छ । हामी प्रतिष्पर्धी पनि हौँ । भोलिको राजनीतिमा एमालेको प्रतिष्पर्धी नेपाली काँग्रेस हो । हामीले जे कुरामा चित्त बुझ्दैन, त्यसमा खबरदारी गरेर अघि बढ्नुपर्ने आवश्यकता छ ।’

डा. कोइरालाले कांग्रेस सरकारमा नरहेको बताए पनि अहिले नेपाली कांग्रेस र नेकपा एमालेले संघदेखि प्रदेश तहसम्मै गठबन्धन गरेर सरकार चलाइरहेका छन् ।

कोइरालाले केन्द्रदेखि गाउँपालिकासम्म संयन्त्रबाट शासन गर्ने काम भइरहेको र अब बिस्तारै वडामा पनि संयन्त्र बनाएर शासन गर्ने दुष्प्रयत्न भइरहेको बताए । संयन्त्रले सरकार चलाउने कुरा कम्युनिष्टहरु र साम्यवादी देशहरुमा मात्रै हुनसक्ने भन्दै उनले लोकतन्त्रमा त्यस्तो नहुने जिकिर गरे ।

उनले सरकार एमालेकरण भइरहेको आरोप लगाए । सांसद कोइरालाले सामाजिक सञ्जाल सम्बन्धी विधेयक मानिसको अभिव्यक्ति स्वतन्त्रताप्रति आघात पुग्नेगरी ल्याइएको आरोप समेत लगाए । नियमन गर्ने नाममा अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रण गर्न नपाइने बताउँदै उनले सरकारले संसदमा पेश गरेको सामाजिक सञ्जाल सम्बन्धी विधेयक फिर्ता गरेर सम्बन्धित सरोकारवाल छलफलपछि मात्रै पुनः ल्याउनुपर्ने बताए ।

देशमा सुशासन ल्याउन र संविधान संशोधन गर्न भनेर एमालेसँग मिलेर सरकार बनाए पनि अहिले सरकारबाट लोकतन्त्र अफ्ठ्यारोमा परेको टिप्पणी गरे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित