राष्ट्रिय दैनिक / नवलपरासी ,५ फागुन
मुस्लीम र हिन्दु सामुदायको आस्थाको केन्द्र बनेको मदार बाबा मेला आजदेखि सुरु भएको छ। नवलपरासीको सुस्ता र विनयत्रिवेणी गाउँपालिकामा लाग्ने मदार बाबा मेला फाल्गुण कृष्ण चतुर्थीबाट सुरु भएर महाशिवरात्रिका दिनसम्म चल्नेछ ।
विनयत्रिवेणी गाउँपालिका ६ मा पर्ने मदारबाबा मजार धार्मिक स्थल, हिन्दु-मुस्लिम समुदायको धार्मिक र सांस्कृतिक आस्थाको केन्द्रको रुपमा रहँदै आएको छ। नेपाल र भारत दुवै देशका श्रद्धालु भक्तजनहरू मदार बाबामा पूजा अर्चना गर्न जाने प्रचलन छ।
मदारबाबाको पूजा गर्नाले निसन्तान भएकाका लागि सन्तान प्राप्ति हुने र सो स्थानमा भाक्कल गरे सन्तान प्राप्त हुने र आफूले गरेको मनोकामना पूरा हुने, स्वास्थ्य, समृद्धि र सफलता प्राप्त हुने जनविश्वास रहेको छ।
मदारबाबामा आज फागुन ५ गतेदेखि १४ गतेसम्म प्रत्येक वर्ष लाग्ने गर्दछ । मेला शिवरात्रि सुरु हुन १० दिनअघि प्रारम्भ भई शिवरात्रिको दिन सम्पन्न हुने गर्दछ ।
मदरबाबा धार्मिक मेलालाई सभ्य, भव्य, अनुशासित, मर्यादित र सामाजिक सद्भावसहित शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सबै सरोकारवाला पक्षलाई पूर्वी नवलपरासी र पश्चिम नवलपरासीका जिल्ला प्रशासन कार्यालयले आग्रह गरेका छन् । मदारबाबा थानसम्म पुग्न सुस्ता गाउँपालिकाको महलबारीदेखि करिव ९ किलोमिटर पहाडी बाटो जानुपर्दछ । मदारबाबाको थानसम्म पुग्न करिव ३ घण्टा पैदल यात्रा गर्नु पर्छ भने पैदल यात्राको अन्य कुनै विकल्प छैन ।
यस्तै मेला अवधिभर उक्त क्षेत्रमा मदिरा तथा मदिराजन्य पदार्थ उत्पादन ओसारपसार, बिक्री वितरण र सेवन जस्ता कार्य नगर्न दुवै प्रशासन कार्यालयले आग्रह गरेको जिल्ला प्रशासन कार्यालयले जनाएका छन् ।
प्रशासन कार्यालयहरुले एक सूचना नै जारी गरी नियम विपरीत कार्य गरे गराएको पाइएमा कानुन बमोजिम कारबाही गरिने पूर्वी नवलपरासी र पश्चिमका जिल्ला प्रशासन कार्यालयले जनाएका छन् ।
मदारबाबा दर्शनका लागि भारतको उत्तर प्रदेश र विहारबाट लाखौं श्रद्धालुहरु आउने गर्दछन् भने नवलपरासी, रुपन्देही, कपिलवस्तु, पाल्पा, गुल्मी, नवलपुर र लुम्बिनी प्रदेशका अन्य जिल्लाहरुबाट श्रद्धालु आउने गरेको समितिले जनाएको छ।

यस वर्ष पनि करिव १० देखि १५ लाख श्रद्धालुहरुले मदारबाबा दर्शन र मेलामा सहभागी हुने बताइएको छ । १० दिनसम्म लाग्ने मेलाको तयारी पूरा भएको समितिले जनाएको छ । मेलामा प्रायः कुखुराका भाले चढाउने गरिन्छ। हजारौ वर्ष अगाडि मदार साहेबले उक्त स्थानमा ४० दिनसम्म साधना गरेको भनाइ रहेको छ। ४ सय ४२ हिजरी संवतमामदार साहेबका पितासैयद अली र माता फातमा उक्त स्थानमा बस्ने गरेको इतिहास रहेको छ । नवलपरासी एउटै जिल्ला हुँदा मदार थान नवलपरासी पश्चिमको कडिया गाउँपालिकामा पर्ने भएको भए पनि देशमा संघीय शासन व्यवस्थापछि नवलपरासी पश्चिम र पूर्वमा पर्ने गर्दछ। मदार बाबाको थान जान अहिले सुस्ता गाउँपालिकाको महलबारीबाट जाने गरिन्छ ।
मुस्लिम समुदायको नेपालकै पहिलो र पुरानो ऐतिहासिक मदारबाबाको धार्मिक स्थल अहिले देशविदेशमा प्रशिद्ध भएकै कारण आन्तरिक तथा बाह्य भक्तजनहरुको घुईचो लाग्ने गरेको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

