नवलपरासी, ४ फागुन – क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जिल्ला समिति नवलपरासीले बर्दघाट नगरपालिका वडा न–१३ जमुनाबारीको एक रेष्टुरेन्टमा भएको कुटाकुटको घटनाले प्रहरी प्रशासन प्रति प्रश्न चिन्ह खडा भएको बताएको छ । मध्यरातिमा भएको उक्त घटनाले जिल्लाको शान्ति सुरक्षा मात्र नभई समग्र सामाजिक ब्यवस्थाको समेत धज्जी उडाएको सो पार्टीको ठहर छ ।
पार्टीका बैकल्पिक केन्द्रीय सदस्य समेत रहेका जिल्ला सेक्रेटरी रवि पाण्डेयद्वारा हस्ताक्षरित एक बक्तब्य जारी गर्दै सो पार्टीले घटना प्रति दुःख ब्यक्त गरेको हो ।
बक्तब्यको पुर्णपाठ रहेको छ ।
‘नवलपरासीको बर्दघाट नगरपालिका वडा न–१३ जमुनाबारीमा रहेको नशा रेष्टुरेन्ट एण्ड डान्स बारमा माघ २८ गते मध्यराति भएको घटना प्रति हाम्रो पार्टीको गम्भिर ध्यानाकर्षण भएको छ । दुई पक्षबीच भएको कुटाकुटको उक्त घटनामा घाइते भएका प्र्रतापपुर गाँउपालिका वडा नम्बर ९ खैरहनीका ४५ बर्षीय सन्त बहादुर चौधरीले उपचारको क्रममा ज्यान समेत गुमाउनु परेको छ ।
बर्दघाट नगरपालिका र प्रतापपुर गाउँपालिकाको करिब सीमा क्षेत्रमा भएको उक्त घटनाले जिल्लाको शान्ति सुरक्षा मात्र नभई समग्र सामाजिक ब्यवस्थाको समेत धज्जी उडाएको छ । बिगत देखि नै भारतबाट हुने तस्करी एंव लागुऔषध ओसारपसारको केन्द्र बन्दै गएको जिल्लामा मध्यराति सम्म डान्सबार संचालन तथा यौनजन्य गतिविधि हुनुले प्रहरी प्रशासन प्रति नै प्रश्न चिन्ह खडा गराएको छ । समयमै नियमकारी निकायले नियमन नगर्दा र समाज समेत यस्ता अवान्छित क्रियाकलाप प्रति सचेत नहुनु जस्ता बिबिध कारणले यस्ता घटना हुने गर्दछ ।
हामी उक्त घटना प्रति दुःख ब्यक्त गर्दै मृतक प्रति श्रद्धान्जली र मृतकका परिवारप्रति समबेदना ब्यक्त गर्न गर्दछौ । अतः हाम्रो पार्टी घटनामा संलग्न जो सुकै भएपनि उचित अनुसन्धान र दोषी उपर कानुनी कारवाही माग गर्न चाहन्छ । साथै होटल तथा रेष्टुरेन्ट संचालनको नाउमा हुने अवान्छित गतिबिधि रोक्न, यस्ता घटना दोहोरिन नदिन जिल्लास्थित प्रहरी प्रशासन तथा सबै सरोकारवाला पक्षसंग अनुरोध गर्दछ ।’
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

