आरपि उपाध्याय / नवलपरासी ,११ कार्तिक
नेपाल भारत सिमावर्ती जिल्लाका प्रमुख र सुरक्षा अधिकारीहरुको जिल्ला स्तरीय समन्वय समितीको त्रैमासिक बैठक बिहारको बाल्मिकी नगरमा सम्पन्न भएको छ।
भारत बिहार प्रान्त र नेपालको बिहार संग जोडिएका ४ जिल्लाका जिल्ला प्रमुख र सुरक्षा अधिकारीहरुको नियमित त्रैमासिक बैठक सम्पन्न भएको पुर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलले जानकारी दिनुभयो।

बिहार पश्चिमी चम्पारणका जिल्ला अधिकारी दिनेश कुमार रायले नेपालबाट बैठकमा भाग लिन आएका अधिकारीहरुलाई स्वागत गर्दै रोटी र बेटीको सम्बन्ध रहेको दुई देशको नाता सुमधुर रहेको बताउदै त्यस सम्बन्धलाई अझ बलियो बनाएर अगाडि बढ्नुपर्ने विचार व्यक्त गर्नुभएको थियो।
नेपाल भारतका सिमावर्ती जिल्लाका अधिकारीहरुको बैठकले बिगतको निर्णय उपलब्धिबारे समिक्षा गर्दै सिमावर्ती क्षेत्रमा हुने अपराध,तस्करी, लागू औषध,भुमिको अतिक्रमण रोक्ने तथा अवैध हातहतियार ओसारपसार नियन्त्रण र नक्कली मुद्राको प्रयोगलाई रोकथाम,नियन्त्रण गर्ने विषयमा बैठक केन्द्रित रहेको जानकारीमा आएको छ।
बैठकमा पश्चिम नवलपरासीको प्र.जि.अ. स्किम श्रेष्ठ,नवलपुरका प्र.जि.अ. पोख्रेल, पर्साका प्र.जि.अ. दिनेश भुसाल,बाराका प्र.जि.अ. शशिधर घिमिरे र नेपाल प्रहरी, सशस्त्र प्रहरी,राष्ट्रिय अनुसन्धानका जिल्ला प्रमुखहरुको उपस्थिति रहेको थियो।
त्यसैगरी भारत बिहारबाट पुर्व,पश्चिम चम्पारणका जिल्ला अधिकारी सहित सुरक्षा निकायका प्रमुखहरुको बैठकमा सहभागिता रहेको जानकारीमा आएको छ।
बैठक भारत बिहारको बाल्मिकी नगर स्थित अन्तर्राष्ट्रिय कन्वेन्सन सेन्टरमा सम्पन्न भएको थियो।

यस पुर्व पनि सोही स्तरको जिल्ला स्तरीय सिमा समन्वय समितीको बैठक पुर्वी चम्पारणको रक्सौल र मोतिहारीमा पनि सम्पन्न भएको स्रोतले जानकारी दिएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

