Rashtriya Dainik

नवलपरासीमा ४२ लाखभन्दा बढीको क्रिप्टोकरेन्सी कारोबार आरोपमा युवक पक्राउ

राष्ट्रिय दैनिक /नवलपरासी ,असार २१

पश्चिम नवलपरासी प्रहरीले अवैध रूपमा क्रिप्टोकरेन्सी (भर्चुअल मुद्रा) कारोबार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामग्राम नगरपालिका–१६, हकुई निवासी २० वर्षीय मनोहर गौड रहेका छन्।

जिल्ला प्रहरी कार्यालय नवलपरासी (पश्चिम)का अनुसार असार १९ गते राति करिब ९ः४५ बजे पाल्हिनन्दन गाउँपालिका-२,अमानिगञ्जस्थित Tha Vodka Valley Dance Bar मा नेपाल राष्ट्र बैंकले जारी गरेको मुद्रा बाहेक भर्चुअल मुद्रामार्फत कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङ तथा जिल्ला प्रहरी कार्यालय नवलपरासीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले छापा मारेको थियो।

प्रहरीले उक्त स्थानबाट मनोहर गौडलाई iPhone 17 Pro Max मोबाइलसहित नियन्त्रणमा लिएको थियो। पक्राउपछि उनको मोबाइलको प्राविधिक परीक्षण गर्दा Bybit र Binance जस्ता अन्तर्राष्ट्रिय क्रिप्टोकरेन्सी कारोबार हुने एपमार्फत ठूलो परिमाणमा भर्चुअल सम्पत्तिको कारोबार भएको देखिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार Bybit एपमा २०२६ अप्रिल ६ (वि.सं. २०८२ चैत २३) सम्म २६,३२४.६३०३२ USDT बराबरको कारोबार भएको देखिएको छ, जसको हालको विनिमय दरअनुसार अनुमानित मूल्य करिब ४० लाख १३ हजार १८९ रुपैयाँ रहेको छ।

त्यसैगरी Binance एपमा २०२५ मे ३१ (वि.सं. २०८२ जेठ १७) सम्म १,८०५.४२६४२ USDT बराबरको कारोबार भएको भेटिएको छ, जसको अनुमानित नेपाली मूल्य करिब २ लाख ७३ हजार २५१ रुपैयाँ रहेको प्रहरीले जनाएको छ।

यी दुवै कारोबारको आधारमा हालसम्म करिब ४२ लाख ८६ हजार ४४० रुपैयाँ बराबरको भर्चुअल सम्पत्तिको आय–व्यय तथा कारोबार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

नेपाल राष्ट्र बैंकको प्रचलित व्यवस्था अनुसार नेपालभित्र क्रिप्टोकरेन्सी, भर्चुअल मुद्रा तथा यस्ता डिजिटल सम्पत्तिको खरिद–बिक्री, विनिमय वा कारोबार गर्न कानुनी मान्यता छैन। त्यसैले गौडलाई मुद्रा सम्बन्धी कसुर (भर्चुअल मुद्राको अवैध प्रयोग) अन्तर्गत पक्राउ गरी असार २१ गते जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक मदन थापाका अनुसार घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको छ। प्रहरीले गैरकानुनी भर्चुअल मुद्रा कारोबारमा संलग्न नहुन सर्वसाधारणलाई समेत आग्रह गरेको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित