Rashtriya Dainik

नेपाल मुटु रोग निवारण प्रतिष्ठान पश्चिम नवलपरासीको प्रथम जिल्ला सम्मेलन अधिवेशन भुमहीमा सम्पन्न

आरपि उपाध्याय / नवलपरासी ,२१ असार

नेपाल मुटु रोग निवारण प्रतिष्ठान पश्चिम नवलपरासीको प्रथम जिल्ला सम्मेलन अधिवेशन सुनवल १२ भुमहीमा सम्पन्न भएको छ।
जिल्ला सम्मेलन तथा अधिवेशनमा जिल्ला अन्तर्गतका ११२ आजीवन सदस्य सहित जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

नेपाल मुटु रोग निवारण प्रतिष्ठान पश्चिम नवलपरासीका सभापति डा. विक्रम ज्ञवालीको अध्यक्षता तथा वरिष्ठ मुटु रोग विशेषज्ञ डा.प्रकाश राज रेग्मीको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो।

सो अवसरमा प्रमुख अतिथि रेग्मीले रातो रङ सावधानीको संकेत भएको हुँदा मुटुमा समस्या देखिनासाथ सावधान भइ त्यसको उपचार गर्न सकिए समस्याबाट बच्न सकिने विचार व्यक्त गर्दै २०४५ सालमा स्थापना भएको हर्ट फाउन्डेसनले लामो समय पार गरी २०८२ सालमा नवलपरासी शाखाको स्थापना गरेको स्मरण गर्दै शाखा स्थापना गर्न ढिलाइ भए पनि सबैको सक्रिय सहयोगबाट स्थापना गरिएको शाखाले सबैको मुटु सम्बन्धि सचेतना फैलाएको चर्चा गर्नुभयो। उहाँले विगतमा सेवा सुविधा कठिन भएपनि हालको समयमा सेवा सुविधा विस्तारले मुटुका रोगीलाई रोगबाट मुक्त गराउन सकिने अवस्था सृजना भएको डा.रेग्मीले प्रष्ट पार्नुभयो।

कार्यक्रममा बर्दघाट नगरपालिका का नगर प्रमुख शम्भुलाल श्रेष्ठले मानवीय सेवाको लागि समर्पित मुटु रोग निवारण प्रतिष्ठानले गरेको कार्य सराहनीय भएबाट नागरिकहरुको आशा र भरोसा बढेको बताउदै यस फाउन्डेसन क्षेत्रमा कार्यरत चिकित्सकहरुले आफ्नो जिम्मेवारी बढाउनुको साथै मानवको जीवन बचाउने अभियानमा लाग्नुभएको जिकिर गर्नुभयो।
सो अवसरमा देवदह मेडिकल कलेजका अध्यक्ष गोपाल प्रसाद पोख्रेलले मुटु सम्बन्धि समस्याको समाधानको लागि देवदह मेडिकल कलेज सदैव सेवा भावले समर्पित रहेको विचार व्यक्त गर्दै यस्तो पवित्र कार्यको लागि कलेजको जनशक्तिलाई पनि यस सेवा क्षेत्रमा प्रयोग गर्न सकिने धारणा राख्नुभयो।

कार्यक्रममा मुटु रोग विशेषज्ञ डा. गोपाल पाहाडी,सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरी,प्रतिष्ठानका शाखा उपाध्यक्ष यम बहादुर थापा मगर लगायतले शुभकामना मन्तव्य सहित आफ्नो भनाइ राख्नुभएको थियो।
अधिवेशनमा प्रतिष्ठानका सचिव दिपक पाण्डेले सचिवको प्रतिवेदन सहित आयव्यय प्रस्तुत गर्नुभयो।
सो अवसरमा प्रतिष्ठानका सभापति डा. ज्ञवालीले २०८२ सालदेखि हालसम्म संस्थाले गरेको प्रगति विवरण सहित लक्ष्य,उद्देश्य बारेको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।
“मुटुलाई धडकिन देऊ” भन्ने मुल नाराका साथ आयोजना भएको अधिवेशनले आगामी वर्षमा गरिने कार्यक्रम अन्तर्गत ईकाइ प्रारम्भ गर्ने,विद्यालय स्तरका कार्यक्रम सञ्चालन गर्ने र मुटु बारे जनचेतना फैलाउने लक्ष्य रहेको कार्यक्रम सञ्चालक समेत रहनु भएका आजीवन सदस्य डोलराज भण्डारीले जानकारी दिनुभएको छ।
सम्पन्न अधिवेशनले डा. विक्रम ज्ञवालीको अध्यक्षतामा १२ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ, जसको उपाध्यक्षमा यम बहादुर थापा मगर,अर्को उपाध्यक्षमा दिपक पाण्डे, सचिवमा डोलराज भण्डारी,सहसचिवमा सरस्वती शर्मा,कोषाध्यक्षमा मानकाजी गुरुङ,उपकोषाध्यक्षमा मनिषा श्रेष्ठ र सदस्यहरुमा डा.दिपक पौडेल,भुमिसरा गाहा मगर,दान बहादुर दर्लामी,रुप नारायण चौधरी,रीना गौचन सर्वसम्मत चयन भएका छन।


सर्वसम्मत चयन हुनुभएका पदाधिकारी सहित सदस्यहरूलाई निर्वाचन आयोगका संयोजक रबिलाल आचार्यले पद तथा गोपनियताको सपथ खुवाउनु भएको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित