काठमाडौँ, ९ असोज ।
खानेपानी मन्त्री प्रदीप यादवले ललितपुरको धोबीघाट फोहोर पानी प्रशोधन केन्द्र निर्माण स्थलको प्रगतिमा सन्तोष व्यक्त गर्नुहुँदै परियोजना समयमै सम्पन्न गरी सञ्चालनमा ल्याउन निर्देशन दिनुभएको छ ।
आज काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको आयोजना कार्यान्वयन निर्देशनालय अन्तर्गत निर्माणाधीन ललितपुरको धोबीघाट फोहोर पानी प्रशोधन केन्द्रको स्थलगत निरीक्षण अनुगमनका क्रममा मन्त्री यादवले उक्त निर्देशन दिनु भएको हो ।
काठमाडौँ उपत्यकामा सहरीकरणसँगै बढ्दै गएको फोहोर पानीको व्यवस्थापनका लागि अत्यन्त महत्त्वपूर्ण परियोजना भएको उल्लेख गर्नुहुँदै मन्त्री यादवले परियोजना समयमै सम्पन्न गरी सञ्चालनमा ल्याउनु पर्ने बताउनुभयो ।
“फोहोर पानी प्रशोधन केन्द्रहरूको प्रभावकारी सञ्चालनले काठमाडौँ उपत्यकामा पानीको गुणस्तर सुधार र वातावरणीय स्वच्छता कायम गर्न महत्त्वपूर्ण योगदान पुर्याउँछ,” उहाँले भन्नुभयो, “यी परियोजनाहरूले वातावरणीय प्रभाव न्यूनीकरण गर्दै जनस्वास्थ्यमा सुधार ल्याउनेछन् ।

परियोजनाहरू समयमै सम्पन्न भए उपत्यकाका मुख्य नदीहरूमा प्रवाह हुने फोहोर पानीको प्रभावकारी व्यवस्थापन हुनुका साथै, स्वच्छता र स्वास्थ्यसम्बन्धी सेवाहरूमा दीर्घकालीन सुधार आउने मन्त्री यादवले अपेक्षा लिनु भएको छ ।
सोही क्रममा मन्त्री यादवले मन्त्रालयले आवश्यक सम्पूर्ण सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाउनुहुँदै अनुगमनलाई उच्च प्राथमिकतामा राखेर परियोजनाहरूको समयमै कार्यान्वयन सुनिश्चित गरिने बताउनुभयो । सरकारले वातावरणीय संरक्षण र जनस्वास्थ्यको सुधारका लागि यस्ता फोहोर पानी प्रशोधन केन्द्रहरूको निर्माणलाई निरन्तर प्राथमिकतामा राखेको मन्त्री यादवले जानकारी दिनुभयो ।
उहाँले निर्माण कम्पनीहरूलाई जिम्मेवारी निष्ठापूर्वक पालना गर्दै तोकिएको समय सीमाभित्र काम सम्पन्न गर्न समेत निर्देशन दिनुभयो । मन्त्री यादवले धोबीघाट निरीक्षण अनुगमन पश्चात् आजै बालकुमारी (कोड्कु) स्थित निर्माणाधीन फोहोर पानी प्रशोधन केन्द्रको पनि निरीक्षण अनुगमन गर्नुभएको थियो । उहाँले परियोजनाको प्रगति अवस्थाबारे जानकारी लिएपछि निर्माण कम्पनीलाई स्रोत साधन परिचालन गरी कामको गति तीव्र पार्न निर्देशन दिनुभएको थियो ।
निरीक्षणकै क्रममा मन्त्री यादवले केन्द्रको हालको अवस्था, पानी प्रशोधन प्रणाली, र बाँकी निर्माण कार्यको प्रगतिका बारेमा विस्तृत जानकारी लिनुभएको थियो । धोबीघाट र बालकुमारी (कोड्कु) फोहोर पानी प्रशोधन केन्द्रको निर्माण कार्य पूरा भएपछि यसले उपत्यकाका विभिन्न क्षेत्रका बासिन्दालाई स्वच्छ र सुरक्षित वातावरण प्रदान गर्न महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।

उक्त निरीक्षण अनुगमनमा खानेपानी मन्त्रालयका सचिव ई प्रमीलादेवी शाक्य बज्राचार्य, सह–सचिव रमाकान्त दुवाडी, आयोजना कार्यान्वयन निर्देशनालयका निर्देशक टिकाबहादुर चौधरीलगायतको सहभागिता रहेको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

