आरपि उपाध्याय / नवलपरासी ,२७ साउन
त्रिवेणी गजेन्द्र मोक्ष दिव्य धाम क्षेत्र विकास समिति पुर्वी नवलपरासीको आयोजनामा पत्रकार सम्मेलन त्रिवेणी धाममा सम्पन्न भएको छ।

त्रिवेणी स्थित लवकुश झोलुङ्गे पुलबाट यात्रा प्रारम्भ गरि चितवनको बाल्मिकी आश्रम जानको लागि पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो।

पुर्वी नवलपरासी त्रिवेणी धामदेखी चितवनको बाल्मिकी आश्रम पुग्ने प्रयोजनको लागि निर्माण गरिएको ४०० मिटर लामो झोलुङ्गे पुल निर्माण भए यता २ वर्ष पुर्वदेखी उक्त पुल प्रयोग बिहिन भएकोमा श्रावण २८ गतेदेखि झोलुङ्गे पुलबाटै यात्रा प्रारम्भ गरि बाल्मिकी आश्रम पुग्न १ हजार श्रद्धालु भक्तजनहरुको तयारी कार्य अन्तिम चरणमा पुगेको गजेन्द्र मोक्ष दिव्य धाम क्षेत्र विकास सनितिका कार्यकारी निर्देशक झपेन्द्रेश्वर भुसालले जानकारी दिनुभयो ।
बाल्मिकी आश्रम पुग्नकै लागि झोलुङ्गे पुल निर्माण भए पनि पुल पारीको बाटो चितवन राष्ट्रिय निकुञ्जको जङ्गलले कठिनाइ बढेपछि ३ साता पुर्व विनयी त्रिवेणी गाउँपालिका वडा न.६ का स्थानीयले गोरेटो बाटोको लागि झारपात सफा गरेपछि बाटो सुचारु गर्न सोमबारका दिन शुभ साइत निकाली झोलुङ्गे पुलबाटै बाल्मिकी आश्रम पुग्ने तयारी कार्य गरिएको कार्यकारी निर्देशक भुसालले बताउनु भयो।

नेपालको महत्वपूर्ण तिर्थ स्थल त्रिवेणीबाट अर्को महत्त्वपूर्ण स्थल बाल्मिकी आश्रम पुग्न भारत भुमिको प्रयोग गर्नुपर्ने बाध्यता रहदै आएको अवस्थामा झोलुङ्गे पुल निर्माणले त्रिवेणीबाट करिब १ घण्टामै पैदाल यात्रापछि आश्रम पुग्न सकिने जानकारी पत्रकार सम्मेलनमा गराइएको थियो।
२०७२ सालमा शिलान्यास भएको झोलुङ्गे पुल नेपाल सरकारको ९ करोडको लागतमा निर्माण भएको उक्त पुलबाट बाल्मिकी आश्रम पुग्न चितवन राष्ट्रिय निकुञ्जको कानुनी जटिलताले अवरोध पुर्याएकोमा २२ दिनको जनश्रमदानबाट गोरेटो बाटो सफाइ गरेपछि श्रावण महिनामै बाल्मिकी आश्रमको शिवालयमा जल चढाउने अभियान अन्तर्गत धार्मिक जागरणको रुपमा जनप्रतिनिधि, आम सर्वसाधारणको बिचमा झोलुङ्गे पुलको उद्घाटन कार्यक्रम गरिने भएको क्षेत्र विकास समितिका अध्यक्ष एवं करपात्री स्वामी कृष्ण प्रपन्नाचार्यको भनाइ छ।

सञ्चारकर्मीद्वारा सोधिएको एक प्रश्नको जवाफमा विनयी त्रिवेणी ६ का वडा अध्यक्ष नुरेन्द्र शाहले विनयी त्रिवेणी वडा न.६ र ७ का नागरिकको चाहानाको रुपमा झोलुङ्गे पुल सुभारम्भ र आश्रम पुग्न बनेको गोरेटो बाटोबाट नवलपरासी सहित चितवन माणी नगरपालिका वडा न.१ बाल्मिकी आश्रम पुग्न सहज हुने हुँदा आश्रमको प्रचारप्रसार र धार्मिक पर्यटनको विकास हुने समेत जानकारी दिनुभयो।
२०७८ सालमा गण्डकी प्रदेश सरकारले त्रिवेणी गजेन्द्र मोक्ष दिव्य धाम क्षेत्र विकास समिति गठन गरे पश्चात् त्रिवेणी आसपासका मठमन्दिर र धार्मिक धरोहरहरुको विकास प्रवर्द्धन कार्यमा वृद्धि भएको पनि पत्रकार सम्मेलनमा जानकारी गराइयो।

पत्रकार सम्मेलनमा नवलपरासीका आधा दर्जन जति सञ्चार कर्मीहरुको उपस्थिति रहेकोे थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

