संजय कुशवाहा / नवलपरासी ११ जेठ
पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नं. ६ हरपुरमा शुक्रबारदेखि शप्तचंडी महायज्ञ सुरु भएको छ ।
जेठ १९ गतेसम्म चल्ने सो महायज्ञको पहिलो दिन कलश यात्राको उद्घाटन गर्दै प्रतापपुर गाउँपालिका उपाध्यक्ष मान कुमारी चौधरीले धर्म, संस्कार र संस्कृतिक संरक्षणमा महायज्ञले टेवा पुर्याउने विचार राख्दै सनातन धर्म र भागवत्को प्रभावले नै विश्वमा लोकको कल्याण हुने बताइन् ।
महायज्ञ आयोजनास्थलबाट सुरु भएको शान्ति कलश सहितको शोभा यात्रा तथा बाजागाजा सहितको गाउँ टोल बजारको विभिन्न ठाउँका परिक्रमा गर्दै गण्डक नहरमा पुगेर त्यहाँ पूजापाठ गरी जल भरेर विभिन्न देवी देवताको मन्दिर र गाउँको परिक्रमा गर्दै पुनः महयज्ञ मण्डपमा पुगेर कलश यात्रा समापन भएको हो ।
कलश शोभायात्रामा १ सय ८ जना कुमारी कन्याका साथै करिब ४ सय भक्तजन सहभागी भएको महायज्ञ व्यवस्थापन समितिका अध्यक्ष गेदी हरिजनले जानकारी दिए । सो शोभायात्राले विभिन्न गाँउको परिक्रमा गर्ने क्रममा यात्रामा सहभागीहरुलाई ठाँउ–ठाँउमा विभिन्न व्यक्तिहरूले पानी र फलफूलहरु बाँडेका थिए ।

सामाजिक, धार्मिक सद्भाव र सहिष्णुता वृद्धि गर्ने लक्ष्यका साथ आयोजना गरिएको महायज्ञ जेठ १९ गतेसम्म चल्नेछ । जेठ ११ देखि १९ गतेसम्म पाठ परायण, प्रवचन तथा राम लीला हुनेछ । १९ गते अन्तिम दिन महायज्ञको पूर्णाहुति एवंं अभिषेकसहित प्रसाद वितरण गरी महायज्ञ समापन हुने आयोजकले जनाएका हुन ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

