Rashtriya Dainik

भारतीय पर्यटकको गुनासो : बीरगञ्ज भन्सारमा अनलाइन फारमको नाममा रकम असुली गरिदै

बीरगञ्ज,२३ असार

रक्सौल नाका हुँदै नेपाल प्रवेश गर्ने भारतीय पर्यटकबाट बीरगञ्ज भन्सार कार्यालय परिसरमा अनलाइन फारम भर्ने नाममा अनधिकृत रूपमा रकम असुल्ने गरिएको आरोप सार्वजनिक भएको छ।

भारतबाट आएका पर्यटकहरुले भन्सार कार्यालयका केही कर्मचारी र स्थानीय बिचौलियाबीच मिलेमतो भएको दाबी गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

पीडितका अनुसार भारतीय नम्बर प्लेटका चारपाङ्ग्रे सवारीसाधन लिएर आउने पर्यटकबाट अनलाइन फारम भर्ने नाममा १०० देखि ५०० रुपैयाँसम्म तथा दुईपाङ्ग्रे सवारीसाधनबाट १०० देखि ३०० रुपैयाँसम्म असुल्ने गरिएको छ।

उनीहरूका अनुसार उक्त सेवा निःशुल्क वा न्यूनतम प्रक्रियामै सम्पन्न हुन सक्ने भए पनि बिचौलियामार्फत अनावश्यक रकम तिर्न बाध्य बनाइने गरिएको छ।

घटनाका प्रत्यक्षदर्शीले साथीको सवारीको भन्सार प्रक्रिया पूरा गर्न कार्यालय पुगेका बेला आफूहरूसँग पनि सोही तरिकाले रकम मागिएको बताए। आफूहरूले त्यसको विरोध गरेपछि मात्र प्रक्रिया अगाडि बढेको उनीहरूको भनाइ छ।

यात्रु शाखामा कार्यरत भागिरथ साह रौनियारको मिलेमतोमा स्थानीय बिचौलिया समूह सक्रिय रहेको र पटक–पटक गुनासो गर्दा पनि प्रभावकारी सुनुवाइ नभएको भन्दै केही भारतीय पर्यटकले असन्तुष्टि व्यक्त गरेका छन्। करिब २ महिना अघि तथ्यांक कार्यालय वीरगंजबाट भन्सार यात्रु शाखामा खटिएका रौनियारले स्थानीय बिचौलिया समुहको मिलिभगतमा भारतिय पर्यटकलाई अनावश्यक दुख दिने गरिएको स्थानीय बताउछन ।

नेपाल प्रवेश गर्ने प्रमुख नाकामध्ये एक मानिने बीरगञ्ज भन्सार कार्यालयमा यस्ता गतिविधिले पर्यटक तथा सर्वसाधारणलाई अनावश्यक सास्ती र आर्थिक भार थपिएको गुनासो बढ्दै गएको छ।

यस विषयमा सत्यतथ्य छानबिन गरी दोषीमाथि आवश्यक कारबाही गर्न तथा भन्सार प्रक्रिया पारदर्शी, सहज र बिचौलियामुक्त बनाउन सम्बन्धित निकायले तत्काल पहल गर्नुपर्ने माग स्थानीय तथा पीडितहरूले गरेका छन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित