Rashtriya Dainik

राजस्व हिनामिना आरोपमा गढीमाईका तत्कालीन ‘हाकिम’सहित तीन जना अदालत तानिए

रौतहट ,२३ असार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको गढीमाई नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध ७८ लाख १५ हजार रुपैयाँ राजस्व हिनामिना गरेको आरोपमा विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

मंगलबार दायर गरिएको मुद्दामा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत शुभाषकुमार ठाकुर, तत्कालीन लेखा प्रमुख कामेश्वर सहनी, भाग्यमणी कन्स्ट्रक्सन कम्पनी प्रालि तथा कम्पनीका सञ्चालक राधेश्याम साहलाई प्रतिवादी बनाइएको आयोगले जनाएको छ।

आयोगका अनुसार आर्थिक वर्ष २०७६/७७ मा लक्ष्मीपुर–धर्मपुरघाट क्षेत्रको बालुवा, गिट्टी तथा ग्राभेल उत्खनन, संकलन, बिक्री र निकासीको ठेक्का भाग्यमणी कन्स्ट्रक्सन कम्पनीले १ करोड ५ लाख रुपैयाँमा लिएको थियो। तर सम्झौताअनुसार पूरा रकम नबुझाई धरौटी मिलानसहित ४० लाख ५० हजार रुपैयाँ मात्र दाखिला गरिएको र बाँकी ६४ लाख ५० हजार रुपैयाँसँगै १३ लाख ६५ हजार रुपैयाँ भ्याट नतिरी कुल ७८ लाख १५ हजार रुपैयाँ राजस्व हिनामिना गरिएको आयोगको आरोप छ।

अनुसन्धानका क्रममा रकम पूरा दाखिला नभए पनि दाखिला भएको भन्दै झुटो विवरण तयार गरी कबोल रकममा १० प्रतिशत छुट दिइएको र त्यसकै आधारमा २२ हजार ४३५ घनमिटर नदीजन्य पदार्थ उत्खनन तथा निकासी गर्न अनुमति दिइएको खुलेको आयोगले जनाएको छ। यसबाट ठेकेदार कम्पनीले १ करोड १० लाख ९१ हजार ३०३ रुपैयाँ १२ पैसा बराबरको गैरकानुनी लाभ लिएको दाबी गरिएको छ।

आयोगले शुभाषकुमार ठाकुर र कामेश्वर सहनीविरुद्ध ७८ लाख १५ हजार रुपैयाँ बिगो कायम गरी कैद, बिगोको दोब्बर जरिवाना तथा झुटो प्रतिवेदन पेश गरेको कसुरमा थप सजायको माग गरेको छ। यस्तै, भाग्यमणी कन्स्ट्रक्सन कम्पनी प्रालि र सञ्चालक राधेश्याम साहविरुद्ध पनि मुख्य कसुरदारका मतियार बनेर गैरकानुनी लाभ लिएको आरोपमा कैद तथा जरिवानाको मागसहित विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित