Rashtriya Dainik

विनयी त्रिवेणी गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

विनयी त्रिवेणी , ३० बैशाख

विनयी त्रिवेणी गाउँपालिकाको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम शुक्रबार सम्पन्न भएकोे छ ।
गाउँपालिकाबाट सञ्चालित विकास कार्यक्रम, उपलब्ध सेवा, वस्तु र सुविधा सार्वजनिक गरी सेवाग्राही नागरिकले उठाएका प्रश्नहरुमा प्रस्टता ल्याउन र नागरिकबाट प्राप्त रचनात्मक सुझावहरुलाई ग्रहण गर्दै जिम्मेवार संस्कार बसाई आम नागरिकको चासो सरोकार तथा विकास निर्माण योजना र समस्याको समाधान गरी सेवाग्राहीका रुपमा आएका सर्वसाधारण प्रति सेवा प्रदायक निकायबाट भए गरेका क्रियाकलाप, उपभोक्ता समिति गठन प्रक्रिया, योजना सञ्चालन, पारदर्शिताको स्थानीय निकायमा सार्वजनिक सुनुवाइ कार्यविधि बमोजिम आम सर्वसाधारणहरुमा जानकारी गराउने उद्देश्यले कार्यक्रम गरिएको थियो ।

सार्वजनिक सुनुवाई कार्यक्रममा उठेका जिज्ञासा तथा प्रश्नहरुको जवाफ दिदै अध्यक्ष गिरीले गाउँपालिकाको दुई तिहाई जनसंख्या लाभाम्बित बन्ने दुम्कीबास सर्दी सडक निर्माणको लागि मात्रै चालु आ.व.मा चार करोड ५० लाख बजेट विनियोजन गरेर कार्यान्वयन भईरहेको बताउनुभयो । उहाँले पाँच वर्षमा गाउँपालिकाको सम्रग आर्थिक, सामाजिक र भौतिक अवस्थामा उल्लेखनीय सुधार ल्याउने योजनाका साथ लागि परेको बताउनुभयो ।

विनयी त्रिवेणी गाउँपालिकामा विद्यमान खानेपानीको समस्या समाधानको लागि गण्डकी प्रदेश सरकार र संघिय सरकारसंग नियमित समन्वय तथा कार्यान्वयनको चरणमा रहेको आयोजनालाई सम्पन्न गर्न आवश्यक सहजिकरण गाउँपालिकाको तर्फबाट भइरहेको उहाँले बताउनुभयो ।

गाउँपालिकाको सबै कृषकहरुलाई सहज सिचाईं पहुँच बनाउन, उत्पादित उत्पादनलाई बजारको व्यवस्थापन गर्न पालिका प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । उहाँले कृषकले उत्पादन गरेको कृषी उत्पादनको बजारीकरण गर्ने दायित्व पालिकाको भएको भन्दै बिक्रि हुन नसक्ने कृषि उत्पादन पालिकाले खरिद गर्ने प्रतिबद्धता समेत जनाउनुभयो ।
सार्वजनिक सुनुवाईमा सहभागीहरुले त्रिवेणी दुम्कीबास सडक, पालिकाको प्रशासनिक भवन, पालिका अस्पताल निर्माणको कार्य प्रगतिको बारेमा जिज्ञासा राखेका थिए । गण्डकी प्रदेश र गाउँपालिकाको लागि समेत निकै महत्वपूर्ण रहेको त्रिवेणी दुम्कीबास सडक निर्माणको लागि पालिकाले आफ्नो तर्फबाट आवश्यक सहजिकरण गरिरहेको भन्दै यस सम्बन्धमा आवश्यक कारवाही अगाडी बढेको बताउनुभयो ।
पालिकाको नयाँ प्रशासनिक भवन र अस्पतालको लागि जग्गा अधिकरणको प्रक्रियामा रहेको भन्दै जग्गा प्राप्ती लगत्तै ति काम अगाडी बढ्ने बताउनुभयो । यस्तै उहाँले गाउँपालिकामा विद्यमान भूमि सम्बन्धी समस्या समाधानको लागि पालिकाको तर्फबाट काम अगाडी बढेको भन्दै आफ्नै कार्यकालमा समस्या समाधानको लागि आफु प्रतिबद्ध रहेको बताउनुभयो ।

पूर्वपश्चिम राजमार्ग बिस्तारको क्रममा सडक जीर्ण हुदा स्थानीयहरुले भोग्नु परेको समस्या समाधानको लागि पालिकाको तर्फबाट सम्बन्धीत ठेक्केदार कम्पनीसंग पटकपटक छलफल र समन्वय भइरहेको भन्दै उहाँले सडक निर्माण चाडै सक्नको लागि जनस्तर र पालिका स्तरबाट नियमित दवावहरु दिई रहेको बताउनुभयो ।

सार्वजनिक सुनुवाई कार्यक्रममा प्रमुख अतिथि रहनु भएका गण्डकी प्रदेश सभा सदस्य लक्षमण बहादुर पाण्डेले स्थानीय सरकारले नियमित रुपमा गर्नुपर्ने सार्वजनिक सुनुवाई गाउँपालिका स्थापना पछि कै पहिलो कार्यक्रमको रुपमा गरेको भन्दै पालिकालाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले कार्यक्रमलाई निरन्तरता दिन समेत पालिकालाई अनुरोध गर्नुभयो ।
सार्वजनिक सुनुवाईमा उठेका प्रश्न, सुझाव र जिज्ञासा हेर्दा पालिकाले गरेको कामबाट स्थानीय जनताहरु अहिले खुशी रहेको अनुभूती भएको भन्दै आफ्नो स्थानबाट पालिकाको बिकासको लागि हुन सक्ने सहयोग गर्न तयार रहेको उहाँले बताउनुभयो ।

सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बोधराज बस्यालले गाउँपालिकाले आ.व. २०७९÷०८० को तेस्रो त्रैमार्षिक सम्म गरेको कार्यप्रगति प्रस्तुत गर्नु भएको थियो । उहाँले गाउँपालिकामा राजश्व संकलनको लक्ष्य र अवस्था, विनीयोजित कार्यक्रम र कार्यान्वयनको अवस्थाबारे प्रस्तुति गर्नुभयो । उहाँले गाउँपालिकाको विभिन्न शाखाबाट भएको कार्य सम्पादनको बारेमा जानकारी गराउनु भएको थियो ।
सार्वजनिक सुनुवाई कार्यक्रममा स्वागत मन्तव्य राख्दै गाउँपालिका उपाध्यक्ष भगवती बैदवारले गाउँपालिकाले कार्यक्रमलाई अवसरको रुपमा लिएको भन्दै पालिकाको लागि केही सल्लाह सुझावहरु भएमा त्यो राख्नको लागि समेत अनुरोध गर्नु भएको थियो ।

सार्वजनिक सुनुवाई कार्यक्रममा कृषक हेमलाल ढकाल, राष्ट्रिय स्वतन्त्र पार्टीका देव परियार, स्थानीय युवा सुनिल खनाल, स्थानीय हरि बहादुर खड्का, स्थानीय प्रेम बहादुर लामा, प्रदेश बाल परिषद सदस्य एलिशा गैह्रे, दुम्कीबास बजार बिकास समितिका अध्यक्ष तेजप्रसाद कोइराला, विनयी त्रिवेणी गाउँपालिका वडा नं. २ का पूर्व वडा अध्यक्ष विष्णु ढकाल र सहकारीकर्मी रेखा के.सी. अधिकारीले आफ्नो प्रश्न तथा जिज्ञासाहरु राख्नु भएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित