काठमाडौं– आज आठौं राष्ट्रिय पत्रकारिता दिवस, विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ। नेपालमा गोरखापत्र प्रकाशन भएको दिनको अवसर पारेर वैशाख २४ गते अर्थात् आजको दिनलाई राष्ट्रिय पत्रकारिता दिवस मनाउने गरिन्छ।
सरकारले २०७३ सालमा पत्रकारिता दिवस राष्ट्रियरूपमै मनाउन मान्यता दिएपछि यो दिवस मनाउन थालिएको हो। १९५८ साल वैशाख २४ गतेदेखि साप्ताहिक रूपमा गोरखापत्रको प्रकाशन सुरुआत भएको थियो।
‘पत्रकारितामा खोज र नवीनताः लोकतान्त्रिक गणतन्त्रको सफलता’ भन्ने मूल नाराका साथ पत्रकारिता दिवस मनाउन थालिएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ। यसै अवसरमा देशभर विभिन्न कार्यक्रम गरिने छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रलायको आयोजनामा आइतबार दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा विशेष समारोह आयोजना गरिने भएको छ।
सो समारोहमा नेपालको पत्रकारिताको क्षेत्रमा विशिष्ट योगदान पुर्याउने २ जनालाई वरिष्ठ पत्रकार सम्मान र ६ जनालाई राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गरिने छ। पत्रकारिता दिवसका अवसरमा सरकारले निष्पक्ष, उत्तरदायी, व्यावसायिक, खोजमूलक र विश्लेषणात्मक पत्रकारिताको माध्यमबाट राष्ट्रिय हितको प्रवर्द्धन र जनतालाई सुसूचित गराउन योगदान पुर्याएका पत्रकार र आमसञ्चारसम्बन्धी संस्थालाई सम्मान गरिने भएको हो।
समारोहलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सम्बोधन गर्नेछन्। गोरखापत्र संस्थानले ‘गोरखापत्र’ प्रकाशनको १२३औँ वर्ष प्रवेश तथा संस्थानको ६१औँ वार्षिकोत्सवको उपलक्ष्यमा प्रधानमन्त्रीको उपस्थितिमा कार्यक्रमको आयोजना गर्दैछ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

