पश्चिम नवलपरासीका स्थानीय तहमा आर्थिक अनियमितता बढ्दो देखिएको छ। बेरुजु रकममा कमि आए पनि अनियमित र असुल गर्नुपर्ने रकम भने बढेको छ। ७ करोड बढी रकम अनियमित देखिएको छ। अनियमित र असुल गर्नुपर्ने रकमलाई अमियमितताका रुपमा लिइन्छ।
त्यसरी देखिएको आर्थिक अनियमिततामा प्रकृया पूरा नगरी काम गरेको, एउटा कार्यक्रमका लागि आएको रकम अर्कै शिर्षकमा खर्च गर्ने गरेको, बिलभन्दा बढी भुक्तानी गर्ने गरेको, बिल भरपाइबिना भुक्तानी दिनेलगायतका नियम विपरीतका काम छन्।
महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६०औं वार्षिक प्रतिवेदनमा नवलपरासीका सात स्थानीय तहमा देखिएको अनियमित रुपमा खर्च गरिएको रकमलाई नियमित गर्न भनेको छ। वार्षिक लेखापरीक्षण प्रतिवेदनमा जिल्लाका सात स्थानीय तहमध्ये आव ०७७/०७८ मा सबैभन्दा बढी बेरुजु सुनवल नगरपालिकाको रहेको छ। सबैभन्दा बढी अनियमित रकम पनि सुनवलकै छ। सबैभन्दा कम बेरुजु रकम प्रतापपुर गाउँपालिकाको रहेको प्रतिवेदनमा उल्लेख छ।
आव ०७६/०७७ मा जिल्लाका स्थानीय तहको कुल बेरुजु ४३ करोड ६४ लाख २९ हजार रहेको थियो। आव ०७७/०७८ मा जिल्लाको बेरुजु रकम घटेर २५ करोड ७९ लाख ३८ हजार पुगेको छ। उक्त आर्थिक वर्षमा बेरुजु रकममध्ये कुल ७ करोड ८१ लाख ७९ हजार अनियमित देखिएको छ। त्यसैगरी १ करोड ९५ लाख रुपैयाँ विभिन्न व्यक्ति, जनप्रतिनिधि, निर्माण व्यवसायी र संघसंस्थाबाट असुलउपर गर्न बाँकी छ।
प्रतिवेदनमा केही पालिकाहरूले जनप्रतिनिधिहरूलाई सेवा सुविधामा दोहोरो पर्ने गरी सुविधाको रकम उपलब्ध गराएका छन्। सबैजसो पालिकाहरूले वितरणमुखी कार्यक्रम सञ्चालन गरेको, अनुदान रकमको पर्याप्त अनुगमन नगरेको, आन्तरिक नियन्त्रण प्रणाली कमजोर रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ।
पालिकाहरूले सार्वजनिक खरिद ऐन विपरीत गएर प्रतिस्पर्धा बिनाटेण्डर र मालसामानहरू खरिद गर्ने गरेको प्रतिवेदनमा उल्लेख गर्दै उक्त कार्य नगर्न सजग गराएको छ। बेरुजु बढ्दा भष्ट्राचारसमेत बढ्न सक्ने कोष तथा लेखा नियन्त्रक कार्यालय नवलपरासीका प्रमुख कोष नियन्त्रक परसुराम नेपाल बताउँछन्। ‘बेरुजुलाई धेरैले भ्रष्टाचार भनेर बुझ्ने गरेका छैनन्।
बेरुजु भ्रष्टाचार होइन तर त्यसभित्र भ्रष्टाचार पनि भएको हुन सक्छ।’ नेपालले भने। बेरुजु बढ्दा आर्थिक अनुशासनमा नकारात्मक असर पर्ने भएकाले त्यसलाई सम्बन्धित निकायले ध्यान दिनुपर्ने उनको सुझाव छ।
बेरुजु रकम चार प्रकारका हुन्छन्। पहिलो असुल गर्नुपर्ने, दोस्रो नियमित गर्नुपर्ने, तेस्रो पेश्की बेरुजु र चौथो सैद्धान्तिक बेरुजु हुन्। नियमित गर्नुपर्ने रकम भनेको कागजपत्र नमिलाइ भुक्तानी गरेको रकम हो। बेमुनासिव तरिकाले आर्थिक कारोबार गरेको अनियमित हो। असुल गर्नुपर्ने
रकम पनि अनियमित अन्तर्गत पर्ने नेपालले बताए।
कुन पालिकामा कति अनियमितता ?
रामग्राम नगरपालिका
यो नगरपालिकाको आव ०७७/७८ मा ३ करोड २९ लाख २३ हजार बेरुजु छ। जसमा ३३ लाख ८३ हजार असुल गर्न बाँकी छ। अनियमित भएको रकम ९५ लाख २९ हजार रहेको छ। हालसम्म अद्यावधिक बेरुजु रकम कुल १२ करोड ५० लाख १९ हजार पुगेको छ।
सुनवल नगरपालिका
यो नगरपालिकाको आव २०७७/७८ मा ७ करोड ४८ लाख ४ हजार बेरुजु छ। जसमा अनियमित भएको रकम ४ करोड ५४ लाख ८४ हजार रहेको छ। असुल गर्न बाँकी रकम ९१ लाख ३९ हजार रहेको छ। हालसम्म नगरपालिकाको अद्यावधिक बेरुजु रकम २४ करोड ३१ लाख ७१ हजार पुगेको छ।
बर्दघाट नगरपालिका
यो नगरपालिकाको आव ०७७/७८ मा २ करोड ४५ लाख ७२ हजार बेरुजु छ। जसमा अनियमित भएको रकम २४ लाख ३२ हजार रहेको छ भने असुल गर्नुपर्ने रकम २७ लाख ७५ हजार छ। हालसम्म नगरपालिकाको अद्यावधिक बेरुजु रकम कुल १० करोड ३८ लाख ८३ हजार रहेको छ।
पाल्हीनन्दन गाउँपालिका
यो गाउँपालिकाको आव २०७७/७८ मा २ करोड ४३ लाख ९ हजार बेरुजु छ। जसमा कुल १ करोड १८ लाख २४ हजार रकम अनियमित तरिकाले खर्च गरेको प्रतिवेदनमा उल्लेख छ। असुल गर्न बाँकी रकम २७ लाख ७० हजार छ। हालसम्म पालिकाको अद्यावधिक बेरुजु रकम कुल २२ करोड ७१ लख ४९ हजार रहेको छ।
सरावल गाउँपालिका
यो गाउँपालिकाको आव २०७७/७८ मा बेरुजु रकम ३ करोड ८ लाख ९२ हजार छ। जसमा अनियमित भएको रकम २५ लाख ५२ हजार रहेको छ। असुल गर्न बाँकी रकम १० लाख ५९ हजार रहेको छ। हालसम्मको अद्यावधिक बेरुजु रकम कुल १२ करोड ५१ लाख २१ हजार पुगेको महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेख छ।
प्रतापपुर गाउँपालिका
यो गाउँपालिकाको आव ०७७/०७८ मा २ करोड ८ लाख ९१ हजार बेरुजु छ। जसमा २० लाख २० हजार अनियमित देखिएको छ। भने असुल गर्न बाँकी रहेको रकम ४ लाख ५३ हजार रहेको छ। पालिकाको हालसम्मको अद्यावधिक बेरुजु रकम कुल १३ करोड ५४ लाख ७७ हजार पुगेको छ।
सुस्ता गाउँपालिका
यो गाउँपालिकाको बेरुजु रकम आव ०७७/७८ मा ४ करोड ९५ लाख ४७ हजार पुगेको छ। जसमा अनियमित देखिएको रकम ४३ लाख ३८ हजार छ भने असुल गर्न बाँकी रकम ३ लाख ५६ हजार रहेको छ। पालिकाको हालसम्मको अद्यावधिक बेरुजु रकम कुल १५ करोड १३ लाख २० हजार पुगेको प्रतिवेदनमा उल्लेख छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

