Rashtriya Dainik

नक्कली चालक धानुक थुनामा सक्कली चालक यादव गाउंमा

वीरगंज ८ बैशाख ।
जिल्ला प्रहरी कार्यालय पर्साले यथार्थ दोषी ट्रयाक्टर चालकलाई उन्मुक्ति दिई पिडक पक्षलाई बचाउने खेलमा लागेको तथ्य बाहिर सार्वजनिक भएको छ । प्रहरीको सहमतिमा ट्रयाक्टरको नक्कली चालकलाई थुनामा राखी कारवाही भईरहेको छ भने सक्कली चालकलाई बाहिर घुमफिर गर्न छुट दिएको स्थानियवासीहरुले बताएका छन् ।
घटना विवरण अनुसार वीरगंज महानगरपालिका वडा नं. ३१ नवकाटोला र कटगेनवाको बिच बाटोमा गत ३० गते बिहिवार अन्दाजी करिब ४÷५ बजेको समयमा मेशी फरगुसन ट्रयाक्टरको ठक्करबाट हरिदेव नाम गरेका व्यक्तिको मृत्यु भएको थियो । सो ट्रयाक्टरका चालक वडा नं. ३२ निवासी गणेश यादवले दक्षिणतर्फबाट उत्तरतर्फ बेलवा चौक जाने क्रममा विपरित दिशाबाट आईरहेका हरिदेवको ठक्कर लागि मृत्यु भएको थियो ।
सो ट्रयाक्टर कालिका–१ कास्की बस्ने बलराम तिमल्सिनाको नाममा रहेको र सोको तिर्नुपर्ने कर २०७२ साल देखि बाकी रहेको यातायात व्यवस्था कार्यालय सवारी शाखा पोखराले बताएको छ । ग. १ त ४१६७ नम्बरको सो ट्रयाक्टर बलराम तिमल्सिनाको नाममा रहे पनि वडा नं. ३२ कै जितपुर निवासी मदन राउत अहिरले खरिद गरेका छन् । सो ट्रयाक्टरका यथार्थ चालक गणेश यादव ट्रयाक्टरधनी मदन राउत अहिरका नातामा भतिजा पर्छन् ।
चालकका काममा दक्ष नभएका गणेशको (लाईसेन्स) सवारी चालक अनुमतिपत्र नरहेको हुनाले नक्कली चालक महेन्द्र महतो धानुकको लाईसेन्स रहेकोले गत ३ गते आईतवारका दिन प्रहरीको सहमतिमा सवारी ज्यान मुद्दामा हाजिर गराई अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ । यथार्थ चालक यादवको मोबाईल नम्बर ९८२५२३०४३३ र नक्कली चालक धानुकको मोबाईल नं. ९८०९२४५०९३ रहेकोले दुबै जनाको घटना मिति र समयको कल लोकेशन ट्रेस गर्दा यथार्थ कुराहरु बाहिर आउने जानकारहरु बताउदछन् ।
दोषीलाई जानीजानी उन्मुक्ति दिने प्रहरीको क्रियाकलाप माथि स्थानियवासीहरु विभिन्न किसिमका शंका उपशंका गर्न थालेका छन् । ठक्कर दिने सो ट्रयाक्टर जिल्ला प्रहरी कार्यालय पर्साको नियन्त्रणमा रहेको छ । नक्कली चालक धानुकलाई पिडक पक्षले मोटो रकम दिई हाजिर गराएको स्रोतको कथन रहेको छ ।
यस सन्दर्भमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरिक्षक एवं प्रवक्ता दिपक गिरी संग मोबाईल फोन सम्पर्क गर्दा उनले मृतकका आफ्न्तले महेन्द्र महतो धानुकनै चालक हो भनि जाहेरी दिएकोमा सोही अनुसार थुनामा राखिएको बताए । उनले यथार्थ कुरा पत्ता लगाउने अनुसन्धान अधिकृत प्रहरी निरीक्षक प्रकाश बस्नेतलाई तोकिएकोमा वहांले थप अनुसन्धान गरिरहेको प्रतिक्रिया दिए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित