नवलपरासी , २४ फागुन । चौधरी फाउण्डेसनको सहयोगमा पश्चिम नवलपरासीको पकलीहवास्थित स्वास्थ्य केन्द्रमा सुविधासहितको बर्थिङ सेन्टर सञ्चालनमा आउने भएको छ ।
बुधबार फाउण्डेसन र सुस्ता गाउँपालिकाकाबीच पकलीहवा स्वास्थ्य केन्द्रको स्तरोन्नति तथा स्वास्थ्य उपकरण हस्तान्तरणसम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
सुस्ता गाउँपालिकामा आयोजित कार्यक्रममा फाउण्डेसनकी सचिव सारिका चौधरी र गाउँपालिकाकातर्फबाट पालिका अध्यक्ष टेकनारायण उपाध्यायले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो ।
बर्थिङ सेन्टर सञ्चालनमा आएपछि जिल्लाको ग्रामीण क्षेत्रका गर्भवती महिलाहरूले सहज रुपमा गुणस्तरीय सेवा पाउने सुस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पौडेलले विश्वास व्यक्त गर्नुभयो ।

फाउण्डेसनले नवलपरासीमा लामो समयदेखि विभिन्न सामाजिक कार्यमा सहयोग पु¥याउदै आएको र आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिने चौधरी फाउण्डेसनका सचिव सारिका चौधरीले बताउनुभयो । “बर्थिङ सेन्टर सेवा सञ्चालनमा आएपछि यहाँका महिला र बालबालिकाको स्वास्थ्य सेवामा सहज पहुँच पुग्ने हाम्रो विश्वास छ,” उहाँले भन्नुभयो ।
सुस्ता गाउँपालिका अन्तर्गत वडा न. ५ मा रहेको स्वास्थ्य केन्द्रमा बर्थिङ सेन्टर सेवा सञ्चालनमा आउने भएको हो । प्रदेश सभा सदस्य देवकरण प्रसाद कलवार सन्तुले सुस्ता गाउँपालिकाको सबैभन्दा विकट क्षेत्र मानिने पकलीहवा क्षेत्रका महिलाहरुको अब स्वास्थ्य सेवामा सहज पहुँच हुने विश्वास व्यक्त गर्नुभयो ।
पश्चिम नवलपरासी संघीय निर्वाचन क्षेत्र न १ बाट निर्वाचित सांसद विनोद चौधरीको सक्रियतामा बर्थिङ सेन्टर सेवा सञ्चालनमा आएको हो । उहाँले निर्वाचनमा प्रत्येक नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने प्रतिवद्धता जनाउनुभएको थियो ।

सम्झौता अनुसार फाउण्डेसनले स्वास्थ्य केन्द्रका लागि एक जना एमबीबीएस चिकित्सक, एक जना अनमीको खर्च र आवश्यक स्वास्थ्य उपकरण उपलब्ध गराउने भएको हो । सम्झौता अनुसार गाउँपालिकाले प्रत्येक वडामा नियमित निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्नुपर्नेछ ।
सम्झौता कार्यान्वयनमा आएको मितिदेखि चौधरी फाउण्डेसन र सुस्ता गाउँपालिका दुबै बर्थिङ सेन्टरको स्तरोन्नति र सुदृढिकरणका लागि संयुक्त रुपमा काम गर्नेछन् ।
कार्यक्रममा पालिका उपाध्यक्ष गिता चाैधरीले बर्थिङ सेन्टर मार्फत महिलालाई उपचार गराउन सहज वातावरण सृजना हुने बताउनु भएको हाे।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

