Rashtriya Dainik

जापान सरकारको सहयोगमा धनगढहवामा आधुनिक विद्यालय भवन निर्माण तीव्र, एक महिनामै १३ प्रतिशत प्रगति

राष्ट्रिय दैनिक / नवलपरासी,१० साउन

पश्चिम नवलपरासीको सरावल गाउँपालिका–५ स्थित जनता आधारभूत विद्यालय, धनगढहवामा जापान सरकारको आर्थिक सहयोगमा निर्माणाधीन सुविधासम्पन्न विद्यालय भवनले तीव्र गति लिएको छ। चाइल्ड फण्ड जापानको सहयोग, इन्द्रेणी सामाजिक विकास मञ्च पञ्चनगरको समन्वय तथा मोफा परियोजनाअन्तर्गत निर्माण भइरहेको ६ कोठे दुईतले आरसीसी भवनले निर्माण सुरु भएको एक महिनामै १३ प्रतिशत भौतिक प्रगति हासिल गरेको छ।

निर्माणाधीन भवनको शुक्रबार शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय नवलपरासी, सरावल गाउँपालिका, गाउँपालिकाको शिक्षा शाखा, चाइल्ड फण्ड जापान र इन्द्रेणी सामाजिक विकास मञ्चका प्रतिनिधिहरूले संयुक्त रूपमा स्थलगत अनुगमन तथा अवलोकन गरेका हुन्। अनुगमन टोलीले निर्माण कार्यको गुणस्तर, प्रगति र निर्धारित समयसीमाभित्र सम्पन्न गर्नुपर्ने विषयमा निर्माण पक्षसँग छलफल समेत गरेको थियो।

सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले गुणस्तरीय शैक्षिक पूर्वाधार निर्माण गाउँपालिकाको प्राथमिकतामा रहेको बताउँदै समयमै उच्च गुणस्तरका साथ निर्माण सम्पन्न गर्न आग्रह गरे। उनले आधुनिक र बालमैत्री विद्यालय भवनले स्थानीय बालबालिकाको सिकाइ वातावरणमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे।

जापान सरकारको परराष्ट्र मन्त्रालयको आर्थिक सहयोगमा निर्माण भइरहेको उक्त ६ कोठे दुईतले आरसीसी भवनको लागत भ्याट बाहेक २ करोड ६८ लाख २७ हजार रुपैयाँ रहेको छ। परियोजनाअन्तर्गत ६ वटा शौचालय र ४ वटा खानेपानी स्टेशन पनि निर्माण गरिनेछ।

बालमैत्री, समावेशी र सुरक्षित शैक्षिक वातावरण निर्माण गर्ने उद्देश्यले सुरु गरिएको यो परियोजना आगामी पौष २५ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। भवन निर्माण सम्पन्न भएपछि विद्यालयका विद्यार्थीहरूले आधुनिक, सुरक्षित र सुविधायुक्त कक्षाकोठामा अध्ययन गर्ने अवसर प्राप्त गर्ने अपेक्षा गरिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित