राजन कुमार बानिया /पर्सा ,१० साउन
पर्साको छिपहरमाई गाउँपालिका–१ स्थित मिर्जापुर बगैंचा क्षेत्रमा प्रहरीले करिब १४० किलो गाँजा बेवारिसे अवस्थामा बरामद गरेको छ। नियमित गस्ती तथा विशेष निगरानीका क्रममा संयुक्त सुरक्षा टोलीले ठूलो परिमाणको लागूऔषध बरामद गर्न सफल भएको हो।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार साउन ९ गते राति करिब ९ः३० बजे इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक प्रदीप पौडेलको नेतृत्वमा खटिएको प्रहरी टोली, प्रहरी चौकी मिर्जापुर तथा सशस्त्र प्रहरी बल नेपाल, बीओपी मिर्जापुरको संयुक्त टोलीले मिर्जापुर बगैंचा क्षेत्रमा शंकास्पद अवस्थामा राखिएका १३ वटा पोकाभित्र करिब १४० किलो गाँजा फेला पारेको हो।
बरामद गरिएको गाँजा आवश्यक कानुनी प्रक्रिया पूरा गरी प्रहरीको नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा गाँजा कसले ल्याएको वा किन बेवारिसे अवस्थामा छाडिएको भन्ने विषय खुल्न नसकेको जनाइएको छ।
घटनापछि प्रहरी निरीक्षक प्रदीप पौडेलको नेतृत्वमा सुरक्षा निकायले घटनास्थलको सूक्ष्म अनुसन्धान अघि बढाएको छ।
लागूऔषध ओसारपसारमा संलग्न व्यक्ति वा समूहको पहिचान गरी पक्राउ गर्न अनुसन्धानलाई तीव्र बनाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
पर्साको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार नियन्त्रणका लागि प्रहरीले गस्ती, निगरानी तथा विशेष अपरेसनलाई थप प्रभावकारी बनाउँदै आएको छ। यस्ता अभियान आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिने प्रहरीको भनाइ छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

