राजन कुमार बानिया /पर्सा, ११ साउन
नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमण तथा आकस्मिक कक्ष (इमरजेन्सी) मा गरिएको तोडफोडको विरोधमा पोखरिया अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरू आइतबार आन्दोलनमा उत्रिएका छन्।
आन्दोलनस्वरूप अस्पतालको ओपीडी (बहिरङ्ग) सेवा बन्द गरिएको छ भने आकस्मिक (इमरजेन्सी) सेवा भने नियमित रूपमा सञ्चालन भइरहेको अस्पतालले जनाएको छ।
आन्दोलनरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले नारायणी अस्पतालमा भएको घटनाको निष्पक्ष छानबिन गरी संलग्न दोषीलाई कानुनबमोजिम कडा कारबाही गर्न माग गरेका छन्। उनीहरूले स्वास्थ्य संस्थामा हुने हिंसात्मक गतिविधि तत्काल रोक्न, स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न तथा अस्पताललाई सुरक्षित कार्यस्थलका रूपमा विकास गर्न सरकार गम्भीर बन्नुपर्नेमा जोड दिएका छन्।
प्रदर्शनमा सहभागी चिकित्सकहरूले स्वास्थ्यकर्मीमाथि हुने आक्रमणले स्वास्थ्य सेवा प्रवाहमा प्रत्यक्ष असर पर्ने भएकाले यस्ता घटनाको पुनरावृत्ति रोक्न प्रभावकारी कानुनी व्यवस्था र पर्याप्त सुरक्षा संयन्त्र आवश्यक रहेको बताएका छन्। उनीहरूले उपचारमा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीको मनोबल उच्च राख्न सुरक्षित कार्य वातावरण अपरिहार्य रहेको धारणा व्यक्त गरेका छन्।
आन्दोलनमा डा. आनन्द रौनियार, डा. अजय गुप्ता, डा. मृगेन्द्र सिंह यादव, डा. ओमप्रकाश यादव, डा. अभिषेक चौधरी, डा. सुरेश प्रसाद यादव तथा फार्मेसी विभागका राकेश यादव र निलम साहलगायत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो।
चिकित्सकहरूले स्वास्थ्य संस्थाभित्र हुने हिंसात्मक गतिविधिप्रति राज्यले शून्य सहनशीलताको नीति अवलम्बन गर्नुपर्ने माग गर्दै दोषीलाई कानुनी दायरामा ल्याई स्वास्थ्य संस्थामा सुरक्षित कार्य वातावरण सुनिश्चित नभएसम्म आन्दोलनका कार्यक्रमलाई थप सशक्त बनाउने चेतावनी दिएका छन्।
पोखरिया अस्पतालले आकस्मिक सेवा भने यथावत् सञ्चालनमा रहेको जनाएको छ भने बिरामी तथा सेवाग्राहीलाई आवश्यक आपत्कालीन उपचारमा कुनै अवरोध नआउने व्यवस्था मिलाइएको अस्पताल स्रोतले जनाएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

