सुरेन्द्र बजगाईँ / ८ पुुस काठमाडौं । गौशाला धर्मशालाको कोठा नम्बर ३ मा गगनदेव राय च्यादर बेरेर बसेका छन् । उनले जसोतसो काठमाडौंको जाडो छल्ने प्रयास गरिरहेका छन् । सर्लाहीदेखि उखुको पैसा आउला कि भनेर काठमाडौं आएका रायलाई बैंकको ऋणले भने छाडेन । उनी आन्दोलनका क्रममा काठमाडौंमै रहेका बखत गाउँबाट खेत लिलामीको चिठी आयो । ‘‘यता मिल मालिकहरुले उखुको पैसा कहिले दिने हुन् थाहा छैन,’’ राय मलिन मुद्रामा भन्छन्, ‘‘उता बैंकले खेत लिलाम गर्ने भयो । उखु खेतीले घरबार गुमाउनुपर्ने अवस्था आयो ।’’ गाउँले युवाको साथ लागेर उनी मंसिर २७ गते गाउँबाट हिँडेका हुन् । काठमाडौंमा मंसिर २८ देखि आन्दोलन सुरु भयो । उता बैंकले पनि मंसिरको २९ गते नै रायको खेत लिलामीको सूचना निकाल्यो । सुरुमा त उनले घरमा लिलामीको पत्र आएकामा विश्वास नै गरेनन् । गाउँकै एकजनाले आन्दोलनमा आएका साथीलाई पत्रको फोटो पठाएपछि मात्र जानकारी पाएको राय बताउँछन् । उनले आफूले लगाएको सबै उखु अन्नपुर्ण मिलमा बुझाएका हुन् । तर उनलाई मिल मालिकले भने रकम नबुझाएको वर्षौं भइसकेको छ । बरु कृषि विकास बैंकले रायको पीडाको वास्तै नगरी जमिन लिलामीको सूचना सार्वजनिक गर्यो । आफ्नो नाममा रायको एक बिघा मात्र जमिन छ । केही अधियाँ दिने सर्तमा रायले कृषि विकास बैंकबाट ऋण लिएर उखु लगाए । त्यही ऋण बाट उखु लगाएका रायले त्यसैको रकम पाउन काठमाडौंमा आन्दोलनमा बस्नुपरेको छ । यता आन्दोलनको टुंगो छैन पाउनुपर्ने पैसा पाउने कि नपाउने भनेर बरु उता जमिन लिलाम हुने पक्का-पक्की झै भइसकेको उनी सुनाउँछन् । ७५ औं वसन्त पार गरिसके रायको घरमा पत्नी, छोरा, बुहारी र चार नातिनातिना छन् । ‘‘कमाइको अन्य स्रोत उनको छैन । सबै परिवार त्यही खेतकै कमाइमा निर्भर छन् । त्यही पनि लिलाम भए के खाएर बाँच्नु ?’’ रायको प्रश्न छ । यति भन्दा उनको आँखामा आँसु छचल्कियो । गाउँमै सरसापट गरेर बैंकको ऋण तिर्न पनि सयकडा तीन ब्याज भएकाले आफूसँग क्षमता नरहेको उनी बताउँछन् । घरमा बिरामी छन् । तैपनि उखुको रकम पाउने आशमा उनी आन्दोलनका लागि काठमाडौं हानिए । उता खेतीबारी लिलामका लागि बैंक तम्तयार छ । ‘‘आफ्नै पसिनाको कमाइ लिन यतिका दिनदेखि माइतीघरमा छु,’’ यत्रो दिन भइसक्दा पनि मिल सञ्चालकहरुले पैसा नदिएकाले निराश राय भन्छन्, ‘पैसा नलिएर त कुन मुखले घर जानु र ख्वै ?’ राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।