Rashtriya Dainik

नयाँ गठबन्धन बनेसँगै लुम्बिनी प्रदेश सरकार संकटमा

दाङ / १३ फागुन

२५ फागुनमा हुने राष्ट्रपति निर्वाचनका लागि बनेको नयाँ आठदलीय गठबन्धनको प्रभाव प्रदेश सरकारहरूमा देखिन थालेको छ । यो समीकरणले लुम्बिनी प्रदेश सरकार पनि संकटतर्फ धकेलिएको छ ।

संघीय सरकारको नेतृत्व गरेको नेकपा माओवादी केन्द्रले नयाँ सत्ता समीकरण बनाएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संघ र प्रदेश सरकारबाट बाहिरिने निर्णय गरिसकेको छ । लुम्बिनीमा पनि सत्ता साझेदार माओवादीले एमाले नेतृत्वको सरकारलाई समर्थन दिइरहने सम्भावना कम छ ।

संकटमा मुख्यमन्त्री गिरी

नयाँ आठदलीय गठबन्धन बनेपछि सरकार बनेको ४६ दिनमै लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरी संकटमा परेका छन् । ८७ सदस्यीय प्रदेशसभामा ५८ सांसदको समर्थनसहित गिरी २७ पुसमा मुख्यमन्त्री नियुक्त भएका थिए । लुम्बिनीमा बहुमतका लागि ४४ सांसद आवश्यक पर्छ । लुम्बिनीमा एमालेका २९, कांग्रेसका २७, माओवादीका १०, राप्रपा, नागरिक उन्मुक्तिका ४–४, जसपा, जनमत र लोसपाका ३–३ स्वतन्त्र २ र राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादीका १–१ जना सांसद छन् ।

कांग्रेससहितको सरकार बन्ने

राजनीतिक परिदृष्य असहज रूपमा अगाडि बढेकोले अब लुम्बिनीमा काग्रेससहितको सरकार बन्ने बताउँछन् नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बराल । उनले भने, ‘राष्ट्रपति निर्वाचनसम्म एमालेले संघीय सरकार पनि नछाड्ने भनेको छ’, बरालले भने, ‘मुख्यमन्त्रीले पनि अहिलेको परिस्थिति आइसकेपछि छलफलका लागि बोलाउनुभएको छैन । राष्ट्रपति निर्वाचनपछि कांग्रेससहितको सरकार बन्छ । तर, कांग्रेस एमाले नेतृत्वको सरकारमा जाँदैन । त्यसपछि नयाँ परिस्थितिअनुसार अगाडि बढछौं ।’

राप्रपा सरकारबाट बाहिरिने हुँदा राप्रपाबाट मन्त्री बनेका जानकी प्रसाद यादव मन्त्रीपदबाट बाहिरिने तयारी छन् । राप्रपा संसदीय दलका नेता आशीष चौधरीले पार्टीको नीतिअनुसार सरकारबाट बाहिरिने तयारी गरेको बताए ।

प्रदेश सरकारका प्रवक्ता तथा खानेपानी, ग्रामीण तथा शहरी विकास मन्त्री चेतनारायण आचार्यले विकसित घटनाक्रमबारे छलफल नगरिएको बताए । उनले नयाँ आउने घटनाक्रमलाई सामना गर्दै अगाडि बढ्ने बताए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित