काठमाडौँ /१३ फाल्गुन— नेपाली कांग्रेसबाट रामचन्द्र पौडेलले राष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । शनिबार नयाँ बानेश्वरस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन-२०७९ निर्वाचन अधिकृतको कार्यालय पुगेर पौडेलले उम्मेदवारी दर्ता गरेका हुन् ।
कांग्रेसले शनिबार बिहान केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट राष्ट्रपतिमा रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । पूर्वसभामुख, गृहमन्त्री र उपप्रधानमन्त्री भइसकेका पौडेल गत मंसिर ४ मा तनहुँ–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।
पौडेलको प्रस्तावकमा शेरबहादुर देउवा, माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, अशोककुमार राई र अब्दुल खान रहेका छन् भने समर्थकमा महन्थ ठाकुर, पूर्णबहादुर खड्का, रञ्जिता श्रेष्ठ, चित्रबहादुर केसी र हितराज पाण्डे रहेका छन् । पौडेललाई माओवादी केन्द्र, जसपा, नेकपा एस, नागरिक उन्मुक्ति पार्टी, लोसपा, जनमत पार्टी र राष्ट्रिय जनमोर्चाले समर्थन गरेका छन् ।
शुक्रबार रातिको नेकपा माओवादी केन्द्रसहितको ८ दलीय बैठकले कांग्रेस उम्मेदवारलाई राष्ट्रपतिमा सहयोग गर्ने सहमति जनाएका थिए । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय मोर्चा पार्टीले राष्ट्रपति निर्वाचनमा कांग्रेसलाई समर्थन गर्ने सहमति दिएका छन् ।
यस्तै, नेकपा एमालेबाट सुवास नेम्वाङले राष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गराएका छन् ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

