Rashtriya Dainik

प्रचण्डलाई प्रधानमन्त्री बनाउन बनेको गठबन्धन भत्किनुका पाँच कारण

प्रधानमन्त्री चयन गर्न १० पुसमा बनेको सत्ता गठबन्धन राष्ट्रपतिको चुनावसम्म आइपुग्दा भत्किएको छ । शुक्रबार साँझ माओवादी केन्द्र, नेकपा एस, जसापा, लोसपा, जनमत, नगरिक उन्मुक्ति पार्टी र जनमोर्चा नेपाली कांग्रेसको उम्मेदवारलाई राष्ट्रपति बनाउन सहमत भएसँगै सत्तासमीकरणमा फेरबदल आउने भएको हो ।

माओवादी केन्द्रले प्रधानमन्त्री पाउँदा बनेको सत्ता गठबन्धन एमालेले राष्ट्रपति नपाउँदा टुटेको छ । माओवादीले माघदेखि राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन गर्नुपर्ने बतायो । जब कि १० पुसमा बनेको गठबन्धनमा एमालेलाई सभामुख र राष्ट्रपति दिनेमा सहमति भएको एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ बताउँछन् । तर, माओवादी केन्द्रका नेताहरू भने त्यस्तो लिखित सहमति नभएको बताउँछन् ।

२६ पुसमा विश्वासको मत लिँदा प्रचण्डलाई नेपाली कांग्रेसले पनि मत दिएको थियो । जसबाट पुरानो गठबन्धन निमार्ण हुने वातावरण बनेको माओवादीको बुझाइ छ । तर, कांग्रेसले १० पुससम्म जुनसुकै अवस्थामा पनि माओवादीलाई प्रधानमन्त्री दिन चाहेन । अन्ततः गठबन्धन टुट्यो र नयाँ गठबन्धन बन्यो । नयाँ गठबन्धनबाट प्रधानमन्त्री बनेका प्रचण्ड २५ गते पुसमा कांग्रेस सभापति शेरबहादुर देउवालाई विश्वासको मत माग्न धुम्बाराही पुगेका थिए । त्यसपछि कांग्रेसले संसदीय दलमा ह्वीप नै लगाएर प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दियो ।

त्यही दिन संसदमा दलका शिर्ष नेताहरूले सम्बोधन गरेका थिए । प्रधानमन्त्री प्रचण्डले अभूतपूर्व विश्वासको मत पाए तर नयाँ बनेको गठबन्धनमा अविश्वासको बिऊ पनि त्यही दिनबाट रोपियो ।

शुक्रबार दिनभरिका राजनीतिक दलहरूको छलफलबाट गठबन्धन नयाँ बन्ने अथवा १० पुसपूर्वको गठबन्धन ब्युँतने लगभग पक्कापक्की देखिएको छ । यो सँगै अहिलेको सत्ता गठबन्धन भत्किने छ ।

माओवादी केन्द्रले कांग्रेसका उम्मेदवारलाई राष्ट्रपतिमा सघाउने भएपछि गठबन्धन टुटेको हो । एमालेले पनि आफ्नो अडान नछोड्दा प्रचण्डले झन् आशंका गर्दा गठबन्धन टुट्न पुगेको हो ।

माओवादी कांग्रेसका लागि पेचिलो बनेको शान्ति प्रक्रिया

माओवादी केन्द्रले ‘जनयुद्ध’ सुरु गरेको १० वर्षपछि शान्ति प्रक्रियामा आएको थियो । शान्ति प्रक्रियामा आएपछि माओवादीले सरकारको नेतृत्व पटक-पटक गरेको हो । तर, अहिलेसम्म पनि शान्ति प्रक्रियाका धेरै मुद्दाहरू टुङ्ग्याउन सकेको छैन । शान्ति प्रक्रियामा माओवादी र कांग्रेससँग जोडिएका धेरै मुद्दाहरू अहिले पनि बाँकी नै छन् । जसको लागि माओवादी र कांग्रेस मिलेर यो तीन वर्षमा टुङ्ग्याउनुपर्ने बाध्यता छ ।

शान्ति प्रक्रिया टुंग्याउन एमालेले चासो नदिएको माओवादीका नेताहरूको गुनासो छ । त्यही भएर पनि माओवादीले यो कार्यकाल कांग्रेससँग मिलेर शान्ति प्रक्रियाका बाँकी काम टुग्याउने रणनीति लिएको छ । जसको लागि कांग्रेसको राष्ट्रपति र आफ्नो प्रधानमन्त्री बनाउने योजना सुरुबाट नै थियो ।

तर, कांग्रेसले धोका दिएर माओवादीलाई प्रधानमन्त्री दिन अस्वीकार गर्दा गठबन्धन टुटेको थियो । फेरि कांग्रेस माओवादीसँग मिलेपछि शान्ति प्रक्रियायका अधुरा काम मिलाउन सहज हुने बुझाइ माओवादीको छ ।

ओलीको सम्बोधनबाट झस्केका प्रचण्ड

२६ पुसमा संसदमा सम्बोधनका क्रममा एमाले अध्यक्ष ओलीले आफूले दुईपटक गरेको संसद विघटन ठिक थियो भन्ने तर्क गरे । कांग्रेस सभापति शेरबहादुर देउवाप्रति व्यंग्य गर्दै ओलीले भनेका थिए, ’गुरूजी, आफूले कतिपटक संसद विघटन गरियो । मेरा मित्रलाई म भन्न चाहन्छु २०५८ साल असारमा संसद विघटन गरेको तपाईंले होइन ?’

ओलीको त्यस्तो अभिव्यक्तिप्रति सबैभन्दा बढी रुष्ट एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल देखिएका थिए । नेपालले संसद विघटन गर्न नपाइने भन्दै एमाले अध्यक्ष ओलीको भनाइबारे सत्ता गठबन्धनको धारणा नै बैठकमा मागेका थिए ।

प्रधानमन्त्री प्रचण्ड र अन्य दलका नेताहरू पुनः मौका मिले एमाले अध्यक्ष ओलीले संसद विघटन गर्न बेर लगाउँदैनन् भनेर झस्केका थिए । जसबाट एमालेले राष्ट्रपति पाउने सम्भावना क्षीण हुदै गएको थियो ।

त्यसपछि प्रचण्डले सहमतिमा राष्ट्रपति चयन गर्ने भन्न थालेका हुन् । कांग्रेसले प्रचण्डलाई प्रधानमन्त्री नबनाएपछि एमालेसँग पाँच वर्षसम्म मिल्ने गरी तयारी गरेको माओवादीले प्रधानमन्त्री पाएको १६ दिनमै कांग्रेससँग मित्रता बढाउनुमा ओलीको अभिव्यक्तिले काम गरेको माओवादीका नेताको भनाइ छ ।

ओलीले संसद विघटन ठिक थियो भन्दै संसदको ‘हुर्मत’ लिन थालेपछि माओवादी राष्ट्रपतिबारेमा सोच्न बाध्य भएको माओवादी केन्द्रका एक स्थायी कमिटी सदस्य बताउँछन् । अन्ततः अन्य दलले गरेको ओलीप्रतिको अविश्वासले राष्ट्रपतिमा सहमति हुन सकेन ।

ओलीको घेराबन्दी

प्रधानमन्त्री प्रचण्ड ओलीको सुरुदेखिको व्यवहारप्रति खुसी थिएनन् । ओलीले भागबण्डाको राजनीतिमा सहभागी भएको भन्ने कुरा बिर्सेर आफूले मात्र प्रचण्डलाई प्रधानमन्त्री बनाइदिएको जस्तो व्यवहार गर्न थालेको उनको गुनासो थियो । जसबाट केही दिनमा नै प्रचण्ड ओलीबाट टाढा हुने र कांग्रेससँग नजिक हुने बाटो खोज्न थाले ।

त्यो समयको खोजिमा रहेका प्रचण्डलाई २६ पुसमा कांग्रेसले विश्वासको मत दिएर बाटो खोलीदियो । ओलीले आफूसँग गरेको व्यवहारबारे प्रचण्डले माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा ब्रिफ्रिङ गरेका थिए ।

सत्ता गठबन्धनको बैठकमा पनि ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपासँग मिलेर आफूलाई अप्ठ्यारो पार्ने र घेराबन्दी गर्ने गरेको गुनासो प्रचण्डले गरेका थिए ।

रविलाई गृहमन्त्री दिन दबाब

१३ माघमा सर्वोच्चको फैसलासँगै रवि लामिछानेले सांसदसँगै उपप्रधानमन्त्री, गृहमन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद गुमाए । नागरिकता पुनः सक्रिय बनाएर उनी रास्वपाको सभापति बने । त्यसको केही दिनपछि नै ओलीले रविलाई पुनः गृहमन्त्री बनाउन प्रचण्डलाई दबाब दिन थाले । त्यसपछि प्रचण्ड ओलीसँग झस्किएका हुन् ।

सत्ता गठबन्धनमा ओली सबैभन्दा ठूलो दलका अध्यक्ष तथा संसदीय दलका नेता थिए । त्यसपछि माओवादी ठूलो दल थियो । तर, ओलीले रास्वपा र राप्रपालाई साथमा लिएर आफूलाई अफ्ठेरोमा पार्न खोजेको प्रचण्डको बुझाइ थियो । अझ अदालतले दोषी ठहराएका रविलाई गृहमन्त्री नै बनाउनुपर्ने भन्दै दबाब दिन थाले । प्रधानमन्त्री प्रचण्डले मन्त्री नबनाएपछि रवि र उनको पार्टी सरकारबाट बाहिरियो ।

१ गते दिएको बिदाको ११ दिनपछि विरोध

नेपाल सरकारले फागुन १ गते जनयुद्ध दिवसको अवसरमा बिदा दियो । उक्त बिदा सरकारले क्याबिनेटबाट निर्णय गरेर दिएको थियो । जसमा एमालेका मन्त्रीहरू पनि सामेल थिए । तर, ओलीले सत्ता गठबन्धनमा दरार आउने स्थिति बनेपछि उक्त बिदाको विरोध मात्र गरेनन् प्रचण्डलाई अहिले पनि हिंसालाई प्रोत्साहन दिने पात्रको रूपमा व्याख्या गरे । जब कि प्रचण्डले १३ गतेसम्म पनि एमालेसँग मिलेर जाने मनसाय राखेका उनको सचिवालयका एक सदस्यले शिलापत्रसँग बताएका थिए । तर, उनले दुई दिनअगाडि नै सरकार र प्रधानमन्त्री प्रचण्डविरुद्ध फायर खोले । त्यसबाट पनि प्रचण्ड चिडिएका बताइन्छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित