काठमाडौँ / ८ पुस । प्रतिनिधि सभा विघटनसँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा देखिएको विवाद र विभाजनका कारण कार्यकर्ताले ‘पक्ष–विपक्ष’मा प्रदर्शन गर्न थालेका छन् । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्ष–विपक्षमा सडक प्रदर्शन र विरोध सभा हुन थालेपछि सम्भावित झडप तथा आक्रमणका घटना हुन नदिन सुरक्षा सतर्कता बढाइएको छ । गृह मन्त्रालयले सुरक्षा चुनौती व्यवस्थापनका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग गरी तीनवटै सुरक्षा निकायका अतिरिक्त ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई उच्च सुरक्षा सतर्कता अपनाउन निर्देशन दिएको छ । गृह प्रवक्ता एवं सहसचिव चक्रबहादुर बुढाले सम्भावित सुरक्षा चुनौतीको व्यवस्थापन गर्न सुरक्षा सतर्कता बढाइएको बताउनुभयो । जिल्ला प्रशासन कार्यालयबाट जिल्लाको शान्ति सुरक्षा अवस्थाको मूल्याङ्कन गरी सुरक्षाकर्मी परिचालन गर्ने कार्य भइरहेको छ । प्रधानमन्त्री ओलीको समर्थनमा लमजुङ र काभे्रमा पार्टी कार्यालयमा ताला लगाउनुका साथै जनकपुर र पोखरामा प्रदर्शन भएका छन् । काठमाडौँमा नेकपाकै विद्यार्थीले प्रतिनिधि सभा विघटनविरुद्ध विरोध प्रदर्शन गरेका छन् । गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका जिम्मेवार जिल्ला सुरक्षा पदाधिकारीलाई अत्यावश्यक कामबाहेक बिदासमेत नलिन सोमबार नै परिपत्र गरिसकेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता वसन्त कुँवरले राजनीतिक उतारचढावका कारण नेकपाका कार्यकर्ताबीच द्वन्द्वको अवस्था आउन सक्ने भएकाले सुरक्षा व्यवस्था चुस्त पारिएको बताउनुभयो । जिल्लाको सुरक्षा अवस्था र चुनौती हेरी सम्भावित झडप रोक्न सुरक्षाकर्मीको उपस्थिति बाक्लो बनाइएको छ । काठमाडौँ उपत्यकालगायत विराटनगर, जनकपुर, हेटौँडा, चितवन, पोखरा, बुटवल, सुर्खेत र धनगढी लगायतका मुख्य सहरमा सुरक्षा व्यवस्था बलियो पारिएको प्रहरीले जनाएको छ । नेकपा पार्टी कार्यालय र पदाधिकारीको सुरक्षामा प्रहरी परिचालन गरिएको छ । काठमाडौँ उपत्यकाको मुख्य सडक चोकमा मङ्गलबार अन्य दिनको तुलनामा प्रहरी र सशस्त्र प्रहरी परिचालन बाक्लो देखिएको छ । सादा पोसाकका सुरक्षाकर्मीलाई पनि खटाइएको महानगरीय प्रहरी कार्यालयले जनाएको छ । मङ्गलबार नेकपाको दुई समानान्तर बैठक भएका स्थान प्रधानमन्त्री निवास बालुवाटार र थापाथलीस्थित एक पार्टी प्यालेसलगायत काठमाडौँको माइतीघर मण्डला, बबरमहल, रत्नपार्क, नयाँ बानेश्वर, तीनकुने, त्रिपुरेश्वर, सुन्धारा, लैनचौर र भृकुटीमण्डप प्रदर्शनीमार्ग क्षेत्रमा सुरक्षा निकायको बाक्लो उपस्थिति थियो । गोरखापत्रबाट राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।