Rashtriya Dainik

बस दुर्घटनामा परी मृत्यु भएका एकै परिवारका आठ सदस्यकाे सामूहिक दाहसंस्कार

काभ्रे , १ पौष
काभ्रेको बेथानचोक चलाल गणेशस्थान भएको बस दुर्घटनामा परी मृत्यु भएका एकै परिवारका आठ सदस्यकाे सामूहिक दाहसंस्कार गरिएको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख चक्रराज जोशीका अनुसार मंगलबार भएको दुघर्टनामा परी ज्यान गुमाएका एकै परिवारका आठजनाको शुक्रबार सामूहिक दाहसंस्कार गरिएको हो।

मृतक कुमार तामाङका साहिँला छोरा जयराम तामाङ मलेसिया र कान्छा छोरा अमर तामाङ जापानबाट फर्केर शव बुझेपछि उनीहरूको सामूहिक दाहसंस्कार भएको हो।

मंगलबार काभ्रेका बेथानचोक गाउँपालिका– ४ चलाल गणेस्थानमा बा.३ ख ४३८५ नम्बरको बस दुर्घटना भएको थियो। दुर्घटनामा १७ जनाको मृत्यु भएको थियो भने २२ जना घाइते भएका थिए। १७ जना मृत्यु भएकोमा नाैजनाको शव बिहीबार परिवारले बुझेर दाहसंस्कार गरिसकेका छन्। बाँकी आठजना शव बुझ्ने परिवारका सदस्यसमेत घरमा नभएकोले धुलिखेल अस्पतालमै थिए।

दुर्घटनामा ज्यान गुमाएका बनेपा नगरपालिका– ११ सल्लेकी ७९ वर्षीया निर्मला तामाङ, ५५ वर्षीय कुमार तामाङ, ५० वर्षीय आकुर तामाङ, ४३ वर्षीया हेमा तामाङ, ३० वर्षीय बुद्ध तामाङ, २८ वर्षीया मञ्जु तामाङ, २७ वर्षीया कोपिला तामाङ र ११ वर्षीय पुष्कर तामाङ सबै एकै परिवारका सदस्य हुन्।

व्रतबन्ध कार्यक्रममा मृतक कुमार तामाङका १० जनाको परिवार बनेपा– ११ सल्लेबाट बेथानचोक– ५ च्याल्टी पुगेको थियो। व्रतबन्ध कार्यक्रम सकेर फर्कने क्रममा बस दुर्घटना भएको थियो। उनका एक छोरा र नातिनी घाइते भएका छन्। छोरा राजनको धुलिखेल अस्पताल र नातिनी श्रेयाको शिर मेमोरियल अस्पतालमा उपचार भएरहेको छ। श्रेया उपचारपछि घर फर्केकी छिन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित