नारायणगढ , २८ मंसिर
नारायणगढ मुग्लिन सडक खण्डमा दैनिक चार घण्टा गाडी आवागमन रोकिने भएको छ । सडक खण्डमा पर्ने पुल निर्माणका लागि गाडी रोक्न लागिएको हो ।
जिल्ला प्रशासन कार्यालय चितवनमा आज सम्पन्न सरोकारवालाको बैठकले पुस ५ गतेदेखि एक महिनाका लागि सडक रोकेर काम गर्ने निर्णय गरेको छ ।
सडक बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म रोकिने छ । भौगोलिकरूपमा कठिन ठाउँमा रहेका सिमलताल, कालीखोला, तुईन खोला र चिसेन्जी खोला पुल निर्माणका लागि पहाड काट्ने लगायतका कामका लागि गाडी आवागमन रोक्न लागिएको हो ।
प्रमुख जिल्ला अधिकारी अश्मान तामाङको अध्यक्षतामा भएको बैठकले नारायणगढ तर्फबाट जाने यात्रुवाहक बस, मिनी, माइक्रो बस, साना गाडीलाई पन्ध्रकिलो बजारदेखि जुगेडीसम्म बिहान ११ बजे रोक्ने निर्णय गरेको छ ।
यस्तै मालवाहक ट्रक, लरी, ट्रेलर, ट्रिपर, ट्याङ्कर लगायतका भारी गाडीलाई भतेरी जङ्गलदेखि रामनगरसम्म बिहान १० बजेर ५० मिनेटदेखि रोकिने छ ।
काठमाण्डौतर्फबाट आउने यात्रुवाहक गाडीलाई मुग्लिन बजारदेखि मनकामना केवलकार गेटसम्म र पोखरातर्फबाट आउने यात्रुवाहक गाडीलाई बेनीटारदेखि पावर हाउससम्म बिहान १० बजेर ५५ मिनेटदेखि रोकिने भएको छ ।
यस्तै काठमाण्डौतर्फबाट आउने मालवाहक गाडीलाई लेबाटारमा र पोखरातर्फबाट आउने मालवाहक गाडीलाई आँबुखैरहनीमा बिहान १० बजेर ४५ मिनेटदेखि रोक्ने बैठकले निर्णय गरेको छ ।
बैठकले बिहान ११ बजेदेखि ३ बजेसम्मको समयमा एम्बुलेन्स, दमकल लगायतका अत्यावश्यकीय गाडीलाई अनुकूलता हेरि छोड्ने निर्णय गरेको छ । यस्तै पोखरा–काठमाण्डौ सञ्चालन हुने गाडी सहज सञ्चालनका लागि ट्राफिक कार्यालयले समन्वय गर्ने भएको छ ।
निर्माण कार्यलाई तीव्रता दिन निर्माण व्यवसायीले पर्याप्त साधन, स्रोत र जनशक्ति परिचालन गर्ने छन् भने सडक खण्डको ठाउँ–ठाउँमा मर्मतको कार्य पनि यसै समयमा गरिने भएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

