८ असोज, बेइजिङ । चिनियाँ विदेशमन्त्री वाङ यी र उनका युक्रेनी समकक्षी दिमित्रो कुलेबाबीच न्युयोर्कमा संयुक्त राष्ट्रसङ्घको महासभाका क्रममा भेटवार्ता भएको चिनियाँ विदेश मन्त्रालयले शुक्रबार जनाएको छ ।
गत फेब्रुअरीमा रूसले युक्रेनमा गरेको आक्रमणपछि दुई देशबीच बिहीबारको बैठक पहिलो होे ।
शुक्रबार, युक्रेनको मस्को–नियन्त्रित क्षेत्रहरू जनमत सङ्ग्रहमा रूसको भाग बन्ने वा नबन्ने बारेमा मतदान गर्दै छन् जुन कीभ र यसका सहयोगीहरूले गैरकानुनी भूमि कब्जाको रूपमा निन्दा गरेका छन् ।
मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार वाङले कुलेबालाई भने, ‘सबै देशको सार्वभौमिकता र क्षेत्रीय अखण्डताको सम्मान गर्नैपर्छ । सबै देशको वैध सुरक्षा चासोलाई गम्भीरतापूर्वक लिनुपर्छ र सङ्कटको शान्तिपूर्ण समाधानका लागि अनुकूल हुने सबै प्रयासलाई समर्थन गर्नुपर्दछ ।’
चिनियाँ राष्ट्रपति सी चिनफिङले आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनसँग संयुक्त राज्य अमेरिकाको सामना गर्न घनिष्ठ रणनीतिक गठबन्धनको प्रयास गरिरहेका बेला बेइजिङले युक्रेनमाथि रूसको आक्रमणको निन्दा गर्न अस्वीकार गरेको छ ।
चीनले पटक–पटक वार्ताको माध्यमबाट द्वन्द्वको शान्तिपूर्ण समाधानका लागि आह्वान गरेको छ, तर सहजीकरणका लागि कुनै कदम चालेको छैन ।
वाङले कुलेबालाई भने, ‘चीन जहिले पनि शान्ति वार्तालाई बढावा दिन प्रतिबद्ध छ, कहिल्यै चुप लागेर बस्दैन, आगोमा कहिल्यै इन्धन थप्दैन र आफ्नो स्वार्थका लागि परिस्थितिको फाइदा कहिल्यै उठाउँदैन ।’
उनले अगाडि थपे, ‘चीन सधैँ शान्तिको पक्षमा उभिएको छ र रचनात्मक भूमिका निर्वाह गरिरहनेछ ।’
कुलेबाले ट्वीटरमार्फत भेटवार्ताको पुष्टि गरेका छन् । ‘मेरा चिनियाँ समकक्षीले युक्रेनको सार्वभौमिकता र क्षेत्रीय अखण्डताप्रति चीनको सम्मान र मतभेद सुल्झाउने माध्यमका रूपमा बल प्रयोगलाई अस्वीकार गर्नुभएको छ,’ उनले लेखेका छन् । एएफपी
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

