Rashtriya Dainik

आज विश्वकर्मा पूजा गरिदै

नवलपरासी , १ असोज । निर्माण एवं सिर्जनका देउता विश्वकर्माको आज धार्मिकरुपमा पूजापाठ भइरहेको छ ।

यस पर्वका अवसरमा विभिन्न उद्योग, कलकारखानामा विशेषरुपमा औजार र मेशिनको पूजा गरिन्छ । व्यापारमा उन्नति र पारिवारिक सुख प्राप्त हुने धार्मिक विश्वासका साथ सुनसरी मोरङस्थित विभिन्न उद्योग, गाडीका ग्यारेज, हार्डवेयरका पसल, सवारीसाधनका साथै पसलमा पनि पूजापाठ भइरहेको छ ।

पूजा शुरु गर्नुअगावै मेशिनरी, सवारीसाधनलगायतको राम्रोसँग सरसफाइ गरेपछि मात्र पूजा शुरु गरिएको हो ।

धार्मिक मान्यताअनुसार भाद्र शुक्लपक्षको चतुर्थी तिथिमा मनाउनुपर्ने भनिए पनि नेपालमा असोज १ गतेका दिन यो पर्व मनाउने गरिन्छ ।

सो पूजाका लागि विभिन्न उद्योगलगायतमा विश्वकर्माको माटोको कलात्मक मूर्ति स्थापना गरी पूजापाठ गरिन्छ ।

आजका दिन कालिगडले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिनेलगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ ।

द्वापर युगमा भगवान् कृष्णलाई राक्षसहरुले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाई लुकाएको धार्मिक विश्वास छ ।

एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रूपमा मानी त्यसै समयदेखि पूजा आजा गर्ने परम्परा बसेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउँछन् । प्राचीन भारतवर्षका चारदिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षकका रूपमा समेत मानिन्छ । विश्वकर्माले निर्माण गरेको ‘भेद द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रको बीचमा रहेको विश्वास गरिन्छ ।

विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रूपमा समेत मानिन्छ । विश्वकर्मा प्रकाश नामक वास्तु शास्त्रको ग्रन्थ उहाँले नै रचना गर्नुभएको विश्वास गरिने वास्तुशास्त्री शिव पोखरेल बताउँछन् ।

यही सम्झनामा नेपालका कालिगडहरुले आज भव्यरूपमा विश्वकर्मा बाबाको पूजा गरी उनको विद्वताको सम्मान गर्छन् । यसो गरेमा आफूमा पनि विश्वकर्माको गुण प्राप्त हुने विश्वास गर्दछन् । यस विश्वासमा आज इञ्जिन जडान भएका यन्त्र सवारी साधनमा समेत पूजा आराधना गरिन्छ ।

वास्तुका शास्त्रका पुस्तकका लेखक एवं अध्येताको सम्झनामा आजको दिनलाई वास्तुविद्हरुले वास्तु दिवसका रूपमा समेत मनाउने गर्छन् । पछिल्लो समय नेपालमा पनि वास्तु विद्याको पुनर्जागरण सुरु भएको छ । चार उपवेदमध्येको एक स्थापत्यवेदमा वास्तु शास्त्रकै विषय उल्लेख गरिएको छ ।

लुप्तप्रायः भएको स्थापत्य वेदमा आधारित शहर एवं आवास निर्माण गर्नेको सङ्ख्या पनि बढ्न थालेको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित