Rashtriya Dainik

पाल्हिनन्दन गाउँपालिका अध्यक्षका सहयोगीको पोलिग्राफ परीक्षण गर्न माग

२८ भदौ, बुटवल । दुई भारतीय नागरिकलाई लागूऔषध मुद्दामा फसाएको आरोप लागेका पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ताविरुद्ध पक्राउ पुर्जी जारी भएको दुई हप्ता भयो ।

तर उनी पक्राउ पर्नुको साटो मुद्दा कमजोर बनाउने प्रयास गरेको थुनामा रहेका भारतीय नागरिकको परिवारले गुनासो गरेका छन् ।

२२ असारमा जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीबाट खटिएको प्रहरीले रामग्रामको पिपरहियाबाट भारतीय नागरिकद्वय ४० वर्षीय रामा गुप्ता र उनका सहयोगी जितेन्द्र पासवानलाई लागु औषध कारोबार गरेको आरोपमा पक्राउ गरेको थियो । उनीहरुसँग गाउँपालिका अध्यक्ष गुप्ताले कवाडी सामानको कारोबारमा साझेदारी गरेका थिए । रकम हडप्ने उद्देश्यले आफूहरुलाई फसाएको भारतीय नागरिकको भनाइ छ ।

प्रहरी प्रधान कार्यालय र प्रदेश प्रहरी कार्यालयको टोलीले गरेको अनुसन्धानमा उक्त घटना बनावटी भएको, गाउँपालिका अध्यक्ष गुप्ता प्रमुख योजनाकार र जिल्ला प्रहरी प्रमुखको भूमिका शंकास्पद रहेको निश्कर्ष निकालेको थियो ।

अनुसन्धानपछि प्रहरीले गाउँपालिका अध्यक्ष गुप्ता, उनका सहयोगी रघुनाथ धोबी र अर्का युवक विवेक पाण्डेलाई लागुऔषध मुद्दामा सजाय गर्न जिल्ला सरकारी वकिल कार्यालयमा रायसहितको प्रतिवेदन बुझाएको थियो । घटनामा मुछिएका पाण्डे मलेसिया पुगेका छन् भने अध्यक्ष गुप्ता फरार छन् । धोवी भने हिरासतमा छन् ।

सरकारी वकिल कार्यालय नवलपरासीका चन्द्रबहादुर सिंजालीले प्रहरीको अनुसन्धान प्रतिवेदनमा अझै केही कुरा अपुग भएकाले पुनः अनुसन्धानका लागि समय दिइएको बताए । पक्राउ पुर्जी गुप्तालाई प्रहरी कार्यालयमा बोलाएर सोधपुछ गर्नुपर्नेमा प्रहरीले पालिका कार्यालयमा गएर कुराकानी गरेको विषयमा सरकारी वकिल कार्यालयले स्पष्ट पार्न भनेको सिंजालीले बताए । ‘गुप्ताले के के कुरा गरेका थिए त्यो खुलाएर ल्याउन भनेका छौं’–उनले भने ।

हिरासतमा रहेका भारतीय नागरिकका परिवारले गुप्ताका सहयोगी धोवीको पोलिग्राफ टेस्ट गर्न माग गरेका छन् । ‘शक्ति र पैसाको आडमा निर्दोषलाई फसाइएको छ, सत्यतथ्य पत्ता लगाउन रघुनाथ धोबीको पोलिग्राफ जाँच हुनुपर्छ’–रामा गुप्ताका सालो सञ्जय शाहले भने ।

स्थानीय धरेन्द्र यादवले घटनाको अनुसन्धान गर्दा जिल्लाको प्रहरी नेतृत्वले गाउँपालिका अध्यक्षलाई जोगाउन खोजेको देखिएकाले आफूहरुले उच्चस्तरीय छानबिनको माग गरेको बताए ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी भोजराज पाण्डेले गाउँपालिका अध्यक्ष गुप्ताको खोजी भइरहेको तर फेला नपरेको बताए ।

गाउँपालिकाको गाडी एक महिनादेखि वेपत्ता

घटनाको अनुसन्धान सुरु भएदेखि गुप्ता फरार छन् । उनले चढ्ने गाडीसमेत नभेटिएको गाउँपालिकाकी कार्यवाहक अध्यक्ष फातुमा खातुन अन्सारीले बताइन् । ‘पक्राउ पुर्जी जारी भएपछि सरकारी गाडी अफिसमा छाड्नुपर्ने हो, तर दुरुपयोग भएको छ’, उनले भनिन् ।

प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतमले गुप्ताले फेसबुक म्यासेन्जरमा कल गरेर दुई दिन पछि गाडीसहित गाउँपालिका आउने बताएको जानकारी दिए ।

भारतीय नागरिक रामा गुप्ताले गाउपालिका अध्यक्ष बैजुप्रसाद गुप्तासंग १२ वर्षदेखि साझेदारीमा कवाड कारोबार गर्दै आएका थिए । पछिल्लो समय रामा गुप्ताले अध्यक्ष बैजुप्रसादबाट एक करोड ३३ लाख रुपैयाँ पाउनुपर्ने थियो । सोही रकम हडप्नकै लागि गाउँपालिका अध्यक्षले उनीहरुलाई लागूऔषध मुद्दामा फसाएको अनुसन्धान प्रतिवेदनले भनेको छ ।

तीन महिनादेखि थुनामा रहेका भारतीय नागरिक गुप्ता र पासवान निर्दोष रहेको भन्दै तत्काल रिहा गर्न र गाउँपालिका अध्यक्षलाई पक्राउ गरी उनीमाथि छानबिन गर्न नेपाली कांग्रेस र जनता समाजवादी पार्टी नवलपरासीले समेत माग गर्दै आएका छन् ।

निर्दोषलाई फसाएको भन्दै नवलरासीबाट प्रतिनिधित्व गर्ने लुम्बिनी प्रदेशसभा सदस्य बैजनाथ कलवारले प्रहरीको माथिल्लो निकायमा जानकारी गराएपछि प्रहरी प्रधान कार्यालय र प्रदेश प्रहरी कार्यालयले अनुसन्धान टोली खटाएको थियो । घटनाको अनुसन्धानपछि प्रहरी टोलीले समेत निर्दोष व्यक्ति थुनामा परेको उल्लेख गरेको प्रहरी स्रोतले बताएको छ ।

(याे न्युज अनलाइन खबरबाट साभार गरिएको छ )

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित