Rashtriya Dainik

थारु समुदायमा किन मनाइन्छ गुरही ‘गुर्या’ ?

थारु समुदायको चाडको शुरुवातको रुपमा लिइने गुरहीपर्व मनाइएको छ । नागपञ्चमीकै दिन यो पर्व मनाउने गरिन्छ ।
थारु समुदायमा ‘गुरही’ मनाउनुको अर्थ, नाग बाबालाई पुजागर्दा विषालु सर्प घरमा नआउने, घरमा चट्याङ नपर्ने, आगलागी नहुने, दुःखको बज्रपात नपर्ने, रोगव्याधी र महामारी घरमा प्रवेश नगर्ने विश्वास गरिन्छ । नागबाबालाई घरको द्वारमा टाँसेर पूजागर्नुको आशय दुःख, कष्ट र रोगव्याधीलाई नागबाबाले घरमा प्रवेशबाट रोकून् भन्ने नै हो ।

गुरहीकै दिनदेखि वर्षायाम अन्त्य भई हिउँद शुरुभएको मानिन्छ । तर थारु समाजमा यो तिहारलाई फरक किसिमले लिने गरिन्छ । खेतीपातीको काम भ्याएर सबैजना घरमा फुर्सदिलो भएकाबेला आउने यो पर्व पर्दछ । यसलाई नागपञ्चमीको रुपमा पनि मनाइन्छ ।

थारु समाजमा ‘गुरही, गुर्या’ भनेर मनाइने यस पर्वलाई नेपाली समाजले नागपञ्चमी भनेर मनाउँछ । नागपञ्चमीमा विशेषगरी नेपालीहरु नागबाबाको पूजा–आजा गर्छन् भने थारु समाजमा ‘गुरही’ पूजा हुन्छ । थारु समाजमा पनि ठाउँअनुसार ‘गुरही’ पर्व फरक फरक ढंगले मनाइन्छ ।

किन मनाइन्छ गुरही
साँझको समयमा गाईगोरु चरेर गोठमा भित्रिएपछि बडघर ९भलमन्सा० को पहलमा गाउँका दाजुभाइ दिदीबहिनीहरु नयाँ कपडा पहिरेर थालमा भुजा, कपडाको रंगीविरंगी गुडीया लिएर गाउँको चौराहातिर लाग्छन् । जहाँ ‘गुरही’ ठटाउने गन्तव्य कायम गरेको हुन्छ । चौराहामा गाउँका भद्र भलादमीदेखि बच्चाबुढासम्म भेला भएका हुन्छन् ।

चोराहमा गाउँघरका दाजुभाइ, दिदीवहिनी, भद्र भलादमीको उपस्थिति रहन्छ । गाउँका बडघर एकै साँसमा (एकसंस्सु) डुबो घाँसमा गाँठो पार्छन । गाँठो पारिसकेपछि त्यसलाई ठटाउने आदेश दिएपछि जम्मा भएका केटाकेटीहरु त्यसलाई आफुसँग ल्याएको रंगीचंगी कोर्राबाट ठटाउँछन् र “देउ घुघरी” “लेउ घुघरी” को नारा लगाउँछन् । यसरी ‘गुरही’ ठटाउँदा गाउँघरमा विद्यमान रहेका रोगव्याधी र दायन भूतको दुःखबाट छुटकारा पाइन्छ भन्ने विश्वास छ ।


रहस्यमय विषय केटाकेटी आकारको लुगाको पुतला बनाएर किन चौकमा लगेर ठटाउने गरिन्छ रु यसको राज के हो रु थारु समाजभित्र तिरस्कृत रहेको बोक्सी, अर्ध–गुरुवालाई समाजबाटै वहिस्कृत गरेको यसले संकेत गर्दछ भनिन्छ । तर अर्कोतिर थारु समाजभित्र अन्धविश्वासले गाडेको जडालाई बुझाउँछ ।

‘गुरही’ ठटाइसकेपछि त्यहाँ जम्मा भएका थारु दिदी–वहिनिहरु ‘गुरही’ ठटाएकै ठाउँमा भुजा छर्कने र जम्मा भएकालाई प्रसादकोरुपमा बाँड्ने प्रचलन गरिन्छ । दिदीबहिनीहरुले चना, मकै, केराउ लगायतका परिकारका भुजा प्रसादकोरुपमा बाँड्ने गर्छन् । थालको भुजा न सिद्धिएसम्म जम्मा भएका केटाकेटीहरु भूजा माग्छन् ।

चौकमा ठटाएको भुजा र कपडाको टुक्राको संकलन गरेर घरतिर लाग्नछन् गुरही ठटाउने सदस्यहरु । ठटाएका ती कपडाको टुक्रा घरको द्वारमा बाँध्दा, भुजालाई घरको छानामा छर्कदा र डुबोलाई घरमाराख्दा घरमा रहेको दुःखकष्ट र सर्प विच्छीहरु घरबाट निस्केर जाने विश्वास गरिन्छ ।

‘गुरही’ लाई ठटाइसकेपछि नदी, कुलोमा अन्त्येष्ठी गरिन्छ । त्यसो गरेमा गाउँघरमा रहेको रोग व्याधी र संकट पानीसँगै बगेरजाने र सुखलाभ प्राप्त हुने विश्वास छ थारु समुदायमा । गुरहीलाई नागपञ्चमीकोरुपमा मनाइने गरेपनि हाम्रा पुर्खाहरुले नागको फोटो लगाएर घरमा पूजागर्ने चलन थिएन । अहिलेका युवा पीढिले देखासेखीमा नागको फोटो घरको मूल ढोकामा टाँस्ने प्रचलन शुरुगरेका छन् ।

धार्मिक तथा सांस्कृतिक महत्वः
गुरही थारु समुदायको शुरुवातको पर्व हो । यसको आफ्नै धार्मिक महत्व छ । थारु समुदाय अझै हिन्दु हो कि बौद्धिष्ट वहसको विषय छ । तथापि परापूर्वकालदेखि हिन्दू धर्मको आचरण व्यवहार गरेको हामी देख्छौं । गुरही पर्वलाई नागदेवतासँग जोडिनु पनि हिन्दू धर्मकै सम्बन्ध हो । धर्म आफैमा कुनै राम्रो न नराम्रो हुँदैन । मनको शान्ति र उच्च विचारले मनाउने पर्वहरुले मनको शान्ति र अमनचयन दिने गर्छ ।

धर्मलाई राजनीतिक विषय बनाएर धार्मिक विचलन ल्याउनु उचित हुँदैन । गुरही पर्वलाई थारु संस्कृतिको धार्मिक पक्षसँग तुलना गर्दा बढी उपयुक्त हुन्छ ।

यसको सामाजिक महत्व भन्नु नै सामुहिकता हो । गाउँघरमा थारु समुदाय प्रायः कृषि कार्यमा आवद्ध छन् । वर्षदिनलाई पुग्ने खेतबारीमा धान रोपिसकेपछि पर्ने यो पर्वले थकित मनलाई मेटाउने र शितलता दिने गर्छ । थारु समुदायमा चाडपर्वहरु जमेर मनाइने गरिन्छ । गाउँघरका सबै नागरिक एकै थलोमा जम्मा भएर गुरही मनाउनु आफैमा थारु एकताको विषय हो । अमनचयन र सौहाद्रताको विषय हो । यसलाई एकताको सन्देशकोरुपमा मनाउन सक्नुपर्छ ।

उहिले गुरही पर्वमा खासै जिता मारेर खाने प्रचलन थिएन । तर आजभोलि गाउँघरमा सुंगुर बंगुर काटेर रमाइलो गरी गुरही मनाउने प्रचलन शुरुभएको छ । चेलीबेटीलाइ माइतमा विशेष सम्मानसाथ खुवाएर पर्व मनाउने प्रचलन छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित