Rashtriya Dainik

मायादेवी बुढाको लाेभलाग्दाे तरकारी खेति

उत्तमकुमार थापा/ धनशेर बुढा, बझाङ
बझाङ छविसपाथिभेरा गाउँपालिकाकि मिनादेवि बुढाको लोभलाग्दो तरकारी खेति”- बझाङको छविसपाथिभेरा गाउँपालिका–६ मिनादेबि बुढाले व्यावसायिक तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै आउनुभएको छ । उहाँले नव दुर्गा कृषि फर्म दर्ता गरि व्यावसायिक रुपमा तरकारी खेति गर्दै आउनुभएको छ।

परम्परागत तरिकाले अन्नबाली गर्दै आउनुभएको बुढाले गाउँमै व्यावसायिक तरकारी खेती गर्न थाल्नुभएको हो। उहाँ हाल १४ रोपनी जमीनमा तरकारी खेती गर्दै आउनुभएको हो । उहाँ टमाटरबाट गाउँमा सबैभन्दा बढी आम्दानी गर्ने किसानका रुपमा परिचित हुनुभएको छ।

केही वर्ष पहिले खेतमा अरु किसान झैँ खेतबारीमा परम्परागत तरिकाले धान, गहुँलगायत अन्नबाली लगाउने गर्नुभएको उहाँले यसबाट परिवारको खर्च धान्नसमेत मुस्किल भएपछि अहिले तरकारी खेती गरिरहेको हुनुहुन्छ । कृषि ज्ञान केन्द्र बझाङले तरकारीका लागि बुढालाई बिउ निःशुल्क वितरण गरेको थियो । बुढाको खेतबारीबाट उत्पादित तरकारी नजिकैको होटल र अन्य ठाउँमासमेत बिक्री हुने गरेका छन् ।

“तरकारीबाट वार्षिक करिब ६ लाख कमाई हुन्छ”, उहाँ भन्नुहुन्छ , “ यसको खेतीबाट वार्षिक रु दशदेखि प्रन्ध लाखसम्म आम्दानी गर्ने लक्ष्य लिएको छु ।” अब केही दिनमै १०० क्विन्टल टमाटर स्थानीय बजारमा पठाउने तयारीमा आफू रहेको उनको भनाइ छ । “अब यो क्षेत्रमा लागिसकेँ । राम्रै गरौँला भन्ने लागि राखेको छ”, उनले भने, “बजारमा तरकारीको माग बढ्दै गएपछि यसको उत्पादनलाई पनि क्रमशः बढाउँदै लगेको छु ।” कृषि ज्ञान केन्द्रबाट प्रोत्साहन पाएपछि तरकारी खेतीमा उत्साह बढेको उनको भनाइ छ । अरुले तरकारी खेती लगाउन सुरु गर्दा आफूले तरकारी बेच्न शुरु गरेको बुढाले बताउनुभयो ।

तरकारी ढुवानीका साधन नहुँदा र बजार नपाउँदा विगतमा निकै सास्ती खेप्दै आएका बुढालाई कृषि ज्ञान केन्द्रले ढुवानीको व्यवस्था मिलाइदिएपछि अहिले सजिलो भएको छ । तरकारी खेतीमा लागेका किसानलाई केन्द्रले ढुवानीका लागि सहजता प्रदान गर्न निगालोका डोका खरिद गरेर वितरण गरिएको र टमाटर राखिएको सो डोकालाई ट्र्याक्टरमा राखेर बजारसम्म पुर्याउने व्यवस्था गरेपछि सहजता भएको उहाँको भनाइ छ ।

केन्द्रका प्रमुख टेकबहादुर विष्टले गाउँमा तरकारी खेतीको विस्तार र यसको ढुवानी तथा बजारीकरणका लागि केन्द्रले सक्दो सहयोग गरिरहेको बताउँदै यहाँबाट उत्पादन भएका बन्दा सङ्कलन गरी अन्य जिल्लामा पठाउने तयारी भइरहेको जानकारी दिए । उनले भने, “तरकारीको व्यावसायिक उत्पादनका लागि केन्द्रले किसानलाई गुणस्तरीय बीउ निःशुल्क उपलब्ध गराइने योजना बनाएको छ ।” तरकारी खेतीका लागि यान्त्रिकीकरणमा जोड दिइने बताउँदै उनले आधुनिक ढङ्गले तरकारीखेती गर्नेतर्फ किसानलाई प्रोत्साहन र तालिम प्रदान गरिने बताए । विशेषगरी महिला किसानलाई व्यावसायिक रुपमा तरकारी उत्पादनमा लाग्न प्रोत्साहन दिइने कार्यलाई प्राथमिकतामा राखिएको उनको भनाइ छ ।

बुढाले तरकारी खेतीबाट सहजै आम्दानी गरिरहेको देखेपछि लोभिएर अरु किसान पनि यसतर्फ आकर्षित हुन थालेका छन् । “तरकारीको बजारमा माग उच्च छ, ताजा तरकारी लिन साहु घरमै आइपुग्छन्” बुढा भन्नुहुन्छ “आफ्नो खेतमा उत्पादन भएको तरकारी सङ्कलन गरेर साहुलाई एकमुष्ट दिने गरेको छु ।” तरकारी ठूलो परिणाममा लगाउँदा अचम्म मान्ने गाउँमा अचेल तरकारी खेतीकै लहर चलेको छ । अहिले गाउँमा अन्य किसान पनि तरकारी खेतीमा जुटेका छन् । “टमाटर खेतीबाट राम्रै आम्दानी भएपछि जागर चलेको छ”, उहाँ भन्नुहुन्छ, “तरकारी खेतीको आम्दानीबाट घरपरिवार चलेको छ, आजसम्म निराश हुनु परेको छैन् ।”

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित