सोमबार रातिदेखि परेको अविरल वर्षाका कारण सुनसरीको इटहरी उपमहानगरपालिका जलमग्न भएको छ । निरन्तरको वर्षाका कारण इटहरी उपमहानगरपालिका– २ मा खोल्सो छेउमा रहेको बस्तीमा बाढी पसेको छ भने विभिन्न सडकखण्ड अवरुद्ध भएका छन् ।

चारकोसे झाडी छेउमा रहेको बस्तीमा बाढी पस्दा आधा दर्जनभन्दा बढी घरमा डुबानमा परेका छन् । बाढीमा फसेका एक दर्जनको प्रहरीले उद्दार गरेको छ । बाढी प्रभावितहरूको उद्दारकार्य जारी रहेको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी अर्जुन केसीले बताए ।

जङ्गल परेको र खोलाको पानी ओभर फ्लो भएर खोस्सामा आएपछि बस्तीमा बाढी पसेको प्रहरीले जनाएको छ । बुढी खोलामा पनि बाढी आएपछि खोला किनारका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ ।

इटहरी उपमहानगरपालिका ३,४,९,१० र ११ वडाको जोखिमयुक्त स्थानमा रहेका बासिन्दालाई पनि सुरक्षित स्थानमा सारिएको छ ।

यता, इटहरीको टेङ्ग्रा खोलामा आएको बाढीले विराटनगर–इटहरी सडकखण्ड प्रभावित भएको छ । इटहरीको विराटनगर सडकखण्डमा रहेको साथी पेट्रोल पम्प छेउमा निर्माणधीन पुलमा माथिबाट बाढी कुदेपछि यातायात सेवा अवरुद्ध भएको छ ।

प्रहरीका अनुसार ड्राइभर्सन बनाइएको स्थानमाथिबाट बाढी कुदेपछि साना सवारीसाधन रोकिएका छन् । प्रहरीले साना सवारीलाई वैकल्पिक सडकमार्फत गन्तव्यतर्फ पठाउने काम भइरहेको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रहरी उपरीक्षक बासुदेव खतिवडाले जनाएका छन् ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

