राष्ट्रिय दैनिक / नवलपरासी ,१३ असार
पत्रकारिता अब कलम र क्यामेरामा मात्र सीमित छैन। कृत्रिम बुद्धिमत्ता (एआई) को तीव्र विकाससँगै सञ्चार क्षेत्र पनि नयाँ प्रविधितर्फ उन्मुख भइरहेका बेला पश्चिम नवलपरासीका पत्रकारहरूलाई एआई सम्बन्धी विशेष तालिम सुरु गरिएको छ।
नेपाल पत्रकार महासंघ नवलपरासी शाखाको आयोजना तथा प्रतापपुर गाउँपालिकाको सहयोगमा शुक्रबारदेखि तीनदिने ‘कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी तालिम’ सुरु भएको हो। तालिममा जिल्लाका विभिन्न सञ्चारमाध्यममा कार्यरत २० जना पत्रकार सहभागी छन्।
तालिमको उद्घाटन गर्दै प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवले पत्रकार महासंघसँग सहकार्य गर्दै गाउँपालिकाले विगतदेखि नै पत्रकारको क्षमता विकासका कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गरे। आधुनिक पत्रकारितामा प्रविधिको प्रयोग अपरिहार्य बन्दै गएको भन्दै उनले यस्ता तालिमले सञ्चार क्षेत्रलाई थप व्यावसायिक र प्रभावकारी बनाउने विश्वास व्यक्त गरे।
महासंघका कार्यवाहक जिल्ला अध्यक्ष विकास अधिकारीका अनुसार तालिममा एआईका आधारभूत अवधारणा, समाचार लेखनमा यसको प्रयोग, तथ्य परीक्षण (फ्याक्ट चेक), डिजिटल सामग्री उत्पादन, नैतिक पक्ष तथा विभिन्न एआई उपकरणहरूको सुरक्षित र प्रभावकारी प्रयोगबारे व्यावहारिक प्रशिक्षण प्रदान गरिनेछ।

पत्रकारितामा एआईको बढ्दो प्रयोगसँगै समाचार उत्पादनलाई अझ छिटो, तथ्यपरक र प्रभावकारी बनाउने उद्देश्यले आयोजना गरिएको यो तालिमले सहभागी पत्रकारहरूको डिजिटल क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने आयोजकको विश्वास रहेको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

